बिहेको प्रलोभनमा गेष्ट हाउस पुर्याएर इज्जत र नगद लुटियो
विवाहको प्रलोभन देखाउँदै गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले अस्ति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका ९ घर भई हाल बनेपा बस्ने २९ वर्षीय विश्व तामाङ हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार विश्वले ललितपुरकी २४ वर्षीया युवतीलाई बलात्कार गरेका हुन् । तामाङ र युवतीबीच सामाजिक सञ्जाल इमोमार्फत् चिनजान भएको थियो ।
तामाङले चिनजान भएको केही सातामै युवतीलाई विवाहको प्रस्ताव राखेका थिए । युवती पनि तामाङका कुरा पत्याउँदै जेठ २९ गते विवाह गर्न घरबाट भागिन् । तर,तामाङले उनलाई आफ्नो घर लगेनन् । सोझै भोटेबहालको एउटा गेष्ट हाउस पुर्याए ।
तामाङले युवतीलाई गेष्ट हाउस पुर्याएकै दिन पेय पदार्थमा लठ्ठयाउने औषधी मिसाएर खुवाइदिए । त्यसपछि करणी गरे र युवतीको साथमा रहेको एक लाख रुपैयाँ,दुई तोला सुनको गहना र एउटा मोबाइल लुटेर भागे ।
नक्कली प्रेमीले भागेर विवाह गर्ने भनेपछि उनी घरमा भएको रकम र गहना लिएर निस्किएकी थिइन् । तर मोबाइलसमेत चोरेपछि उनीसँग तामाङलाई चिन्ने कुनै आधार थिएन । दुई दिनसम्म तामाङ नफर्किएपछि जेठ ३१ गते युवतीले प्रहरी वृत्त, कालिमाटीमा जाहेरी दिइन् ।
एसपी मैनालीका अनुसार पीडितले जाहेरी दिँदा पीडकको नाम, थर र ठेगानासमेत थाहा थिएन । ‘होटलमा बस्दासमेत पीडित महिलाकै परिचयपत्र, मोबाइल नम्बरमार्फत डाटा इन्ट्री गराएको पाइएको छ,’ प्रहरीले घटनाको जानकारी दिँदै भन्यो ।
तर प्रहरीले अनुसन्धानको विविध विधि र प्रविधिको प्रयोग गर्दा पीडकको नाम, ठेगाना खुलेको हो । उनको नाम विश्व तामाङ खुल्यो,त्यसपछि उनले आफूलाई ‘जय’, ‘भोटे’, ‘आशिष’ गरी तीन वटा नामबाट चिनाउने गरेको पनि प्रहरीले पत्ता लगायो ।
पक्राउ परेका तामाङमाथि जबरजस्ती करणी र चोरीसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंबाट सात दिनको म्याद थप गरिएको छ ।
उक्त घटनालगत्तै युवतीको प्रसुति गृह थापाथलीमा स्वास्थ्य परीक्षण गराइएको थियो । अहिले उनको अवस्था सामान्य रहेको मैनालीले बताए ।
टिप्पणीहरू