चीनका सडकमा गाडी आफ्नो, पेट्रोल र डिजेल रुसको
अमेरिका र उसँग निकट पश्चिमा मुलुकले रुसमाथि प्रतिबन्ध लगाए पनि रुसी तेलको निर्यातमा खासै असर परेको छैन । युक्रेनमाथि रुसले आक्रमण गरेको विरोधमा अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको छ ।
रुसले सबैभन्दा धेरै पेट्रोलियम पदार्थ र ग्यास निर्यात गर्छ । यसबीचमा पनि उसले उक्त निर्यातलाई कायम राखेको देखिएको हो । गत मे महिनामा रूसले चीनतर्फ निर्यात गरेको कच्चा तेलको मात्रा निकै बढेको छ ।
पश्चिमा मुलुकहरूले आफूमाथि प्रतिबन्ध लगाएपछि रूसले तेलका लागि वैकल्पिक योजना अघि सार्दै आएको छ । उसको युरोप जाने तेललाई अहिले अन्य क्षेत्रमा बिस्तार गरेको देखिन्छ ।
रुसले गत महिना चीनमा करिब ८४ दशमलब ४२ मिलियन टन तेल निर्यात गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशतले धेरै हो । सोही अवधिमा साउदी अरेबियाबाट चीनले सात अर्ब ८२ करोड टन तेल आयात गरेको देखिएको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार पछिल्ला दुई महिनामा भारतले जर्मनीलाई रुसी कच्चा पदार्थको दोस्रो ठूलो आयातकर्ताको रुपमा उछिनेको छ । चीन सन् २०१६ देखि रुसी कच्चा तेलको सबैभन्दा ठूलो बजार कायम छ ।

टिप्पणीहरू