यातायातका डेढ दर्जन कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

यातायातका डेढ दर्जन कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

यातायात व्यवस्था कार्यालय, ललितपुरका तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर हुनेमा यातायातका १२ र पाँच जना बिचौलिया रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्माको सेटिङमा बिचौलियामार्फत सवारी चालक अनुमतिपत्र जारी गर्ने गरेको खबर बाहिर आएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा तत्कालीन प्रमुख सम्बरबहादुर कार्की र राजुभाई कुस्माले स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट थप ३३ जना नयाँ व्यक्तिको नाममा जारी गरेर सरकारी कागजात सच्चाएको खुलेको हो ।

यसमा मेकानिकल इञ्जिनियर विजयराज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल पनि मुछिएका छन् । त्यसैगरी, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, रेजु भट्टराई, रोशन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी, रिचा श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

बिचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धवबहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यविरुद्ध पनि मुद्दा चलाइएको छ । उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सजायको मागदाबी गरिएको छ ।

टिप्पणीहरू