एउटै परीक्षाको उत्तरपुस्तिका अलग–अलग
शिक्षक सेवा आयोगले लिने एउटै विषयको परीक्षाको उत्तर छुटछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्ने भएको छ । पर्सिबाट सञ्चालन हुने माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षामा दुई वटा उत्तरपुस्तिकामा उत्तर दिनुपर्ने आयोगले जनाएको हो ।
आयोगको पाठ्यक्रमअनुसार विषयगत प्रश्नमा खण्ड (क) र खण्ड (ख) मा पाँच–पाँचवटा गरी १० वटा प्रश्न सोधिनेछ । ‘विषयगत प्रश्नपत्रमा रहेका खण्ड (क) र (ख) मा पाँच पाँच वटा प्रश्नको उत्तर अलग अलग दुई उत्तरपुस्तिकामा लेख्नुहुन र उत्तरपुस्तिकाको अग्रपृष्ठमा उल्लिखित उत्तरपुस्तिका खण्डमा देखिने गरी जुन खण्डको उत्तर लेखेको हो सोही खण्डमा जनाउनुहुन सबै उम्मेदवारलाई सूचित गरिन्छ’, आयोगले जारी गरेको सूचनामा भनिएको छ ।
दुवै खण्डको उत्तर एउटै उत्तरपुस्तिकामा वा मिसाएर लेखेमा परीक्षा रद्द हुने सूसुचित गराइएको छ । यता, परीक्षा केन्द्रलाई उत्तरपुस्तिकाको पोका बनाउँदा रोल नम्बरका क्रममा खण्डअनुसार अलग–अलग पोका बनाई दुवै पोकालाई ठूलो पोकामा राखेर पठाउन निर्देशन दिइएको छ ।
टिप्पणीहरू