स्याङ्जामा आज पृथ्वी रजश्वला हुने दावी

स्याङ्जामा आज पृथ्वी रजश्वला हुने दावी

अंग्रेजी पात्रोअनुसार पृथ्वीको उत्तरी गोलार्धमा जुन २१ को दिनलाई सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात भनिन्छ । पूर्वीय शास्त्र र नेपाली विश्वासमा पनि यसै वरिपरिको दिनलाई नै लामो मानिन्छ ।

नेपालको पश्चिम त्यसमा पनि स्याङ्जा वरिपरिका जिल्लामा असार ८ गतेका दिनलाई सबैभन्दा लामो दिन मान्ने चलन छ । आजको दिन भूमिरज अर्थात् धर्तीमाताको रजश्वला हुने विश्वास गरिन्छ । विशेषगरी स्याङ्जालीहरू आज पृथ्वीको मासिकधर्म भएकाले कुनै पनि कार्य गर्न हुँदैन भन्ने गर्छन् ।

आजको दिन असारमास भए पनि खेतबारी खनजोत गर्न नहुने चलन छ । यो चलन झण्डै पाँच सय ६० वर्ष अघिदेखि मान्दै आएको सो क्षेत्रका संस्कृति जानकार देशबन्धुु अर्यालको भनाइ छ । अर्यालका अनुसार ‘भूमिको अर्थ माटो वा पृथ्वी हो । रज भनेको रजवतीको समय भएकोले आजको दिनलाई भूमिरज भनिएको हो ।’

आज धर्ती र सूर्यको मिलन हुने जनविश्वास सो क्षेत्रमा व्याप्त छ । धर्तीमा जति पनि जीवजन्तु र वनस्पति छन्,ती सबैलाई बाँच्नको निम्ति सूर्यको आवश्यकता पर्दछ । त्यसैले सूर्य र धर्तीमाताको मिलन भएको दिनको रुपमा आज पृथ्वीको सतहमा खनजोत गर्न नहुने विश्वास परापूर्व कालदेखि नै स्याङ्जालीहरूले मान्दै आएका हुन् ।

अर्याल भन्छन्,‘आजको दिन खनजोत गरे धर्तीमा विपत आउन सक्छ । धान खेतीको विशेष तयारीका लागि संकल्पपूर्वक ध्यान केन्द्रित गरिने अवसरका रुपमा पनि आजको दिनलाई लिइन्छ । आज जमिनको खनजोत गरिँदैन बरु खेतिपातीका लागि आवश्यक सामग्री कुटो,कोदालो,हलो,घुम आदिको जोहो गर्ने महत्वपूर्ण दिनको रुपमा लिइन्छ ।’

असार महिनालाई किसानहरूले वर्षभरिकै सबैभन्दा व्यस्त र महत्वपूर्ण महिनाको रुपमा लिन्छन् । सर्वाधिक वर्षा हुने असारले वर्षभरिकै सार बोकेको संस्कृति जानकार अर्यालको भनाइ छ । आजको दिन विशेषरुपमा पूजाआजा पनि गर्ने गरिन्छ । विगतमा यो चलन धेरै भए पनि अहिले घटेको छ । तर, खनजोत नगर्ने कार्य अहिले पनि प्रचलनमा छ ।

टिप्पणीहरू