इच्छाराज तामाङ्गलाई छुटाउन एमाले वकिल नेताद्वारा १० करोड बार्गेनिङ्ग
अदालत बिगृयो,न्यायाधीशहरुले बेन्च सपिङ्ग गर्न थाले भन्दै न्यायालय सुधारको आन्दोलन गरेका वकिलहरु नै न्यायाधीश र न्याय किन्ने दलालीको भूमिकामा देखिएका छन् । सिभिल सहकारीमार्फत् सर्वसाधारणको आठ अर्ब बढी रुपैयाँ ठगी गरेको आरोपमा पुर्पक्षको निम्ति ९ महिनादेखि जेलमा रहेका इच्छाराज तामाङलाई जेल पर्नै नदिन एमाले निकट वकिलहरुले चलखेल गरेको अडियो सार्वजनिक भएसङ्गै अहिले न्याय परिषदको बैठक डाकिएको छ ।
नेपाल बारका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार कोइरालासँग तामाङलाई छुटाइदिन करोडौं रकमको बार्गेनिङ गरेको अडियो छरपस्ट भएसङ्गै न्यायिक बृत्त रनक्क तातेको छ । एमाले कानुन विभाग सदस्यको जिम्मेवारीमा रहेका पोखरेल पहिले उच्च अदालत पाटन बारको अध्यक्ष थिए ।
न्यायाधीश र वकिलबीच भएको कुराकानीको अडियो सार्वजनिक भएपछि न्यायाधीश कोइरालालाई न्यायपरिषद्ले आजै तान्न लागेको छ । उनीहरुबीच तामाङलाई कति धरौटी राख्न लगाउने र कतिमा छुटाउने भन्नेबारे लामो कुराकानी भएको सुन्न सकिन्छ ।
अडियोबाट न्यायाधीश कोइरालाले तामाङलाई ५० करोड धरौटीमा छाड्न आदेश दिने तयारी गर्दै गर्दा कोइरालाले १० करोड रुपैयाँमा छुटाउन बिचौलियाको काम गरेको देखिन आएको छ । त्यसो गर्दा न्यायाधीशलगायतलाई दुई करोड रुपैयाँ प्राप्त हुने सन्देश दिइएको पनि सुनिन्छ ।
झण्डै १० मीनेटको टेलिफोन सँवादमा सर्वोच्चका ठूलाबडा श्रीमानदेखि जिल्ला अदालतका मुख्य न्यायाधीशसम्म सेटिङको कुरो गरिएको छ । अबको बहसमा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल उपस्थित हुने जानकारी पनि त्यसैमा दिइएको छ ।
तामाङलगायत १२ जनालाई गत असोज १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । ठगी र संगठित अपराधमा समातिएकामध्ये अरु १० जना चार महिनापछि धरौटीमा छुटे पनि तामाङ र उनका जेठान तथा सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई भने थप अनुसन्धान र पुर्पक्षको निम्ति गत पुसमा जिल्ला अदालतले नै कारागार पठाएको थियो । अहिले उनीहरुलाई छुटाउने नाममा वकिल र न्यायाधीशबीच करोडमा लेनदेनको बार्गेनिङ भएको हो ।
टिप्पणीहरू