करणी गर्ने जेल गए, टड्कारो छ छिट्टै छुट्ने भय
अनुसन्धान ‘गरिदिँदा’ हैन, ‘गरेजस्तो’ भइदिँदा एकजना गम्भीर अभियोगका आरोपीले उन्मुक्ति पाउने खतरा बढेको छ । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे जैसीले आठ वर्षअघि सम्पन्न सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धी युवतीलाई जबरजस्ती करणी गरेको विषय मानव बेचबिखन मुद्दाका रुपमा अदालतमा पेश हुँदा उनी अस्ति सोमबार पुर्पक्षका लागि जेल पठाइएका छन् । तर, यो मुद्दा कमजोर जगमा उभिएको छ ।
उनै मनोजको दुई वर्षअगाडि पत्नीसँग सम्बन्धबिच्छेद भएको छ । कारण खोज्दै त्यही फाइल झिकाउँदा पनि अहिलेको मुद्दालाई केही न केही बल पुग्थ्यो । तर, त्यस्तो केही गरिएन । अनुसन्धानका क्रममा अझ त्योभन्दा गम्भीर त्रुटी देखिन्छ । बलात्कार मुद्दा चलाउनका लागि कानुनतः हदम्याद नाघेको र हदम्याद हटाउने विषय टुंगो नलागेकोले उनीविरुद्ध बलात्कार मुद्दामा सजायँ गरिपाऊँ भन्ने दावी छैन । यसर्थ चोरलाई लागू पदार्थ ओसारपसारमा जेल हालेझैं दावी छ, मानव बेचबिखनको ।
आधार हो, मनोज पाण्डेले काठमाडौंको एभरेष्ट होटल पछाडि एक जमानामा एयरपोर्टको सुन तस्करीमा संलग्न ज्ञानेन्द्रराज पोखरेलले चलाएको होटल रिजेन्सीको कोठा नं. १०१ मा अर्को कोही व्यक्तिसँग युवतीलाई यौन सम्पर्कका निम्ति दबाब दिएको । ‘यौन सम्पर्क गर्दा कसको कारण कति लामो वा छोटो समय लाग्छ हेरौँ’ भन्दै अर्को पुरुषसँग सम्पर्कका निम्ति दबाब दिइएको बयान युवतीले गरेकी छन् । यी तमाम चिज त भए, तर मुख्य कुरा नै अनुसन्धानबाट खुल्दैन । त्यो हो, तेस्रो व्यक्तिको पहिचान ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/0७८-C१-१९५८-मनोज-पाण्डे-बालयौन-दुरुपयोग_watermark.pdf”]
यो त्यस्तो प्रकरण हो, जसलाई लिएर कसुरको गाम्भीर्यताका आधारमा हदम्याद हटाउनुपर्ने भनी देशमा यति ठूलो बहस चलिरहेको छ । तर, त्यही कसुर र कसुरदारलाई निरुत्साहित गर्न एवं कानुनी दायरामा ल्याउनका लागि अति आवश्यक पर्ने प्रमाणका रुपमा व्यक्ति पहिचान गर्न राज्य समर्थ भएन । त्यसैले अहिले मनोज पाण्डे जुन अभियोगमा पुर्पक्षका लागि कारागार गएका छन्, त्यसका लागि पहिचान हुनुपर्ने व्यक्तिको अस्तित्व निर्विवाद रुपमा स्थापित भएको छैन ।
अहिले मुद्दा पुर्पक्षका रुपमा भएका कारण संकलित कागजलाई प्रमाण मान्ने कुरा प्रमाण ऐनको दफा १८ (ख) ले भन्छ । अब निश्चितप्रायः के छ भने, भोलि फैसला हुने बेलामा त्यो प्रश्न मज्जाले उठ्ने भयो, ‘ती किशोरीलाई भोग्ने अर्को मान्छे खोई ?’ यदि त्यो प्रश्न नै बलशाली भएर अगाडि आउने हो भने उनीविरुद्ध मानवबेचबिखनको अभियोग ठहर नहुन पनि सक्छ ।
आफूले शारीरिक सम्बन्ध राखेकी युवतीलाई अर्को साथीसँग बस्न बोलाउने मान्छेले बोलाइएको मान्छेसँग मोबाइलमा कुराकानी गरेको, म्यासेज आदानप्रदान गरेकोजस्ता कुराहरू दह्रो प्रमाण र व्यक्ति पहिचानको आधार पनि बन्न सक्थ्यो । राज्यले चाहँदा ती कुरा संकलन गर्न मुश्किल छैन । किनभने, दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले म्यासेजहरूको व्याकअप राख्ने गरेका छन् । तर, खोज्नुपर्ने निकायले नखोजेपछि भेटिएन ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/२२२-मा-वे-मनोज-कुमार-पाण्डे…२-३०_watermark.pdf” title=”२२२-मा-वे-मनोज-कुमार-पाण्डे…२-३०_watermark”]
युवतीसँग उनको इच्छाविपरित वा नशालु पदार्थको सेवन गरी झुक्यानमा पारेर पहिलोपटक शारीरिक सम्बन्ध पछि आरोपी मनोजले भिडियो र नग्न फोटो छ भनी तर्साउँदै अनामनगरस्थित एक होटलमा बोलाएको र, अर्का व्यक्तिसँग युवतीलाई यौनकार्यका निम्ति दबाब दिएको आरोप छ । बुझिन्छ कि, युवतीलाई डिप्रेसन भएको छ, कसै न कसैले उनलाई तर्साएको छ । त्यही घटनामा टेकेर यो मुद्दा आयो ।
जिउ मास्ने, बेच्ने नियन्त्रण कार्यको दफा ६ मा त्यसरी पीडितको बयान प्रमाणित भयो भने पछि मुद्दाको प्रक्रियामा नआए पनि प्रमाणका रुपमा लिन सक्ने ऐनको व्यवस्था छ । अहिलेको बयान न्यायाधीशको अगाडि प्रमाणित गरिएको हो । बयान दिएको हो कि होइन भनेर सम्बन्धित व्यक्तिसँग सोध्ने गरिन्छ । सम्बन्धित व्यक्तिले ‘हैन, पुलिसले जबरजस्ती गरेको’ भन्यो भने ‘नभनेको सवाल ५ को जवाफ…’ भनेर लेख्ने गरिन्छ । पीडितले मैले भनेको हो भनेपछि बल्ल प्रमाणित गरेर दिइन्छ । मुद्दाको अभियोगपत्रमा उक्त घटनाको साक्षीका रुपमा मीस नेपाल माल्भिका सुब्बादेखि चिकित्सकसम्मको बयान संलग्न छ ।
आठ वर्षकै बीचमा एकपटक युवतीले आत्महत्याको प्रयास गरेकी छन् । मनोचिकित्सकहरूले मनको कुरा मनमै गुम्साउँदा झन् पीडा हुने र समस्या बढ्ने भन्दै आफ्नो कुरा निर्धक्कसँग भन्नुपर्छ भनी सुझाव दिएपछि युवतीले जेठ ४ गते टिकटकमा सबै कुरा खोलेकी हुन् । यदि उनले माल्भिकासँग सहयोग मागेको बेला नै उनले कुरा सुनिएको भए जबरजस्ती करणीको मुद्दा हुन्थ्यो । थप क्षति हुन पाउने थिएन । हदम्यादको कुरा पनि हुँदैन थियो । त्यसमाथि अरुसँग पनि सम्बन्ध राख्न लगाएको कुरा त झन् बढी गम्भीर हुन्छ । तर, सबै कुरा समयमै भएन, हुने बेलामा मुद्दा फितलो भइदियो ।
यो मुद्दामा पीडित युवती आफैँ जाहेरवाली हैनन् । तर, जिउ मास्ने, बेच्ने ऐनले बयान प्रमाणित गर्ने व्यवस्था गरेको छ । सामान्यतया पीडित जाहेरवाला भएमात्रै बयान प्रमाणित गर्ने कानुनमा लेखेको छ । यो मुद्दाको हकमा बाबु र वकिलको जाहेरी छ । पीडित नै जाहेरवाला नभएको हकमा कसरी पुर्पक्षका लागि थुनामा पठाउने ? यो बहस अदालतमा चल्यो । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलाशले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिँदा सर्वोच्चको नजिर उल्लेख गरिएको छ ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/0७८-C१-१९६०-मनोज-पाण्डे-मानव-बेचविखन-तथा-ओसार-पसार_watermark.pdf”]
जबकि, थुनछेकको आदेशमा सामान्यतया नजिर उल्लेख गरिँदैन । आदेशमा उल्लेखित नजिर हो, ०७२ सालको । त्यसबेला सर्वोच्च अदालतले पीडित भन्नेले नै जाहेरी दिनुपर्छ भन्ने अनिवार्यतालाई अस्वीकार गरेको छ । अदालतले प्रमाणित बयान गर्छ कि गर्दैन, प्रमाणको मूल्यांकन त्यसआधारमा गर्नुपर्छ भनेको छ । यसरी कानुनको व्याख्यामा उदारता भएका कारण मनोज अहिले जेल गएका हुन् ।
युवतीले आफूसँग मनोजले यौनजन्य व्यवहार गरेको कुरा बयानमा भनेकी छन् । तर, वकिलहरूले हदम्यादको कुरा गरेपछि त्यो विषयमा मुद्दा अगाडि बढ्न सकेन । त्यसैले उनै मनोजले पोहोर २४ मार्च २०२१ को दिन त्यही होटल एभरेष्ट र द्वारिकाजमै निर्जला, स्टेला, श्रीयंका लगायतका किशोरीहरूलाई फोटोसुटको नाममा बाल यौन दुरुपयोगको कसुरमा एक लाख रुपैयाँ धरौटी तोकियो । खासमा यस्तो मुद्दामा हदम्यादको कुरा संसारभरि छैन । कुनै कुनै देशले केही केही कुरामा पनि हदम्याद अस्वीकार गरेका छन् ।
नेपालमा पनि मानव बेचबिखनमा हदम्याद हुँदैन । ज्यान मारेको हकमा हदम्याद नलाग्ने व्यवस्था छ । आरोपित पुर्पक्षका लागि थुनामा गइसकेको अवस्थामा अब प्रतिवादी र पीडितको साक्षी बकपत्रसँगै जाहेरवालीको पनि बकपत्र हुन्छ । जोडिएका मान्छेहरूसँग बुझ्ने कुरा बल्ल शुरु हुँदैछ । यसबीच यौनसम्पर्कका लागि दबाब दिइएको भनिएका व्यक्ति पहिचान भए, पक्राउ परे वा त्यो तथ्यलाई कानुनले पुष्टि ग¥यो भने मनोज जेलबाट उम्किने अवस्था हुँदैन । तर, ती व्यक्ति फेला परेनन् वा पहिचान खुलेन भने उनी बाहिर आउने खतरा रहन्छ ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/२२१-वालयौन-दुरुपयोग-मनोज-कुमार-पाण्डे….२-३१_watermark.pdf” title=”२२१-वालयौन-दुरुपयोग-मनोज-कुमार-पाण्डे….२-३१_watermark”]
टिप्पणीहरू