चितवनमा पनि आजबाट बालबालिकालाई खोप

चितवनमा पनि आजबाट बालबालिकालाई खोप

आजबाट पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाईंदैछ । पाँच वर्ष पूरा भएका ११ वर्षसम्मका बालबालिकालाई लक्षित गरी फाइजर–बायोएनटेक खोप लगाउने अन्तिम तयारी भएको छ । पहिलो चरणमा चितवनसहित २७ जिल्लामा यो खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय, चितवनका निमित्त प्रमुख रामकुमार केसीले जानकारी दिए ।

नेपाल सरकारको केन्द्रीय कार्यक्रमअनुसार पहिलो मात्रा खोप अभियान आजदेखि असार १५ गतेसम्म तय गरिएको छ । तर चितवनमा असार १८ गतेसम्म खोप लगाइने निमित्त प्रमुख केसीले बताए । कालिका, रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा आजबाट असार १४ गतेसम्म पहिलो चरणको पहिलो मात्रा खोप अभियान चल्नेछ ।

भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने नियमित खोपका कारण असार १४ गतेदेखि १८ गतेसम्म यो खोप लगाउने कार्यक्रम बनाइएको छ ।
बालबालिकाहरुको सहजतालाई ध्यानमा राखेर कोही पनि नछुटुन् भनेर विद्यालयमा नै खोप केन्द्र बनाइएको छ । विद्यालयमा नजाने तथा विद्यालय बाहिर रहेका बालबालिकाले समेत प्रमाणित उमेरको आधारमा यो खोप लगाउन सक्ने उनले बताए ।

‘यो खोप सुरक्षित र प्रभावकारी छ’ निमित्त प्रमुख केसीले भने, ‘सामान्य असरको रुपमा ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने हुनसक्छ तर केही दिनपछि आफैं ठीक हुन्छ ।’ खोप लगाएपछि सामान्य ज्वरो आउने, बान्ता हुने, आँखा तिरमिराउने, रिँगटा लाग्ने हुनसक्ने बताउँदै स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य निरीक्षक नन्दकली चापागाईं खोप लगाउन आउँदा खाना खाएर आउन र प्रशस्त जीवनजल र पानी पिउन सुझाव दिन्छिन् ।

खोप लगाउँदा कसै–कसैलाई एलर्जी पनि हुनसक्ने उनले बताइन् । खोप लगाएको केही दिनसम्म कुनै कडा बिरामी वा समस्या भएमा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्नुपर्ने बताइएको छ । खोप लगाएपछि हुनसक्ने अवाञ्छित घटनाको निगरानीका लागि खोप लिएपछि ३० मिनेटसम्म खोप केन्द्रमा बस्न अनिवार्य गरिएको छ ।

बायाँ पाखुराको बाहिरी माथिल्लो भागमा सुईद्वारा मासुभित्र यो खोप दिइन्छ । तालिमप्राप्त स्वास्थ्यकर्मीहरुबाट खोप दिइने हुँदा नडराउन बालबालिका र अभिभावकलाई स्वास्थ्यकर्मीहरुको आग्रह छ । खोप लगाएको २१ दिनपछि दोस्रो मात्रा खोप लगाउनुपर्छ । दोस्रो मात्रा खोप लगाउने कार्यक्रम साउन २ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।

भरतपुर महानगरपालिकामा ३१ हजार चारसय १२, रत्ननगर नगरपालिकामा आठहजार तीनसय ७१, खैरहनी नगरपालिकामा सात हजार तीनसय ५०, राप्ती नगरपालिकामा आठ हजार नौसय १४, कालिका नगरपालिकामा चार हजार एकसय ९२, माडी नगरपालिकामा पाँच हजार तीनसय ६३ र इच्छाकामना गाउँपालिकामा चार हजार सातसय ८० गरी लक्षित बालबालिका ७० हजार तीनसय ८२ छन् । चितवनमा ७६ हजार आठ सय डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

– अजय गोर्खाली

टिप्पणीहरू