थप चार नेताले विप्लवको साथ छाडे

थप चार नेताले विप्लवको साथ छाडे

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीयस्तरका चार नेताले सामूहिक राजीनामा दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै पूर्वपोलिटब्युरो सदस्य ओमप्रकाश पुन, सेती ब्युरो इञ्चार्ज शंकरबहादुर खडका, दलबहादुर धामी र नरेश परियारले सामूहिक राजीनामा दिएका हुन् ।

अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरि अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको जनाउँदै उनीहरुले पार्टी छाडेको बताएका छन् । माओवादी धारालाई एकीकृत र ध्रुविकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरि आफूहरुले नेकपा छाड्न बध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुविकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरि त्यसकै प्रयासस्वरूप हामीले आजकै मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

भविष्यमा फेरि राजनीतिको कुनैमा मार्चामा भेट हुने अपेक्षा गर्दै उनीहरुले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको बताए ।

‘अहिलेसम्म सहकार्य गरेको सो पार्टीको आदरणीय नेतृत्व, सहयोद्धा र सहयोगी सम्पूर्ण सहयात्री कमरेडहरुलाई हार्दिक धन्यवादसहित भविष्यमा फेरि पनि राजनीतिको कुनैमा मार्चामा भेट हुने अपेक्षा गर्दै आजदेखि सो पार्टीमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिई अलग भएको घोषणा गर्दछौं’, विज्ञप्तिमा लेखिएको छ ।

टुट, फुट र विभाजनमा हैन एकताबद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा एकाकार हुन पनि उनीहरूले आग्रह गरेका छन् ।

टिप्पणीहरू