माओवादी र एकीकृत समाजवादीले एकैसाथ उठाए गठबन्धनको औचित्य

माओवादी र एकीकृत समाजवादीले एकैसाथ उठाए गठबन्धनको औचित्य

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाउन थालेका छन् । अस्ति एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी चुनावमा गठबन्धनभन्दा बाहिरका अन्य राजनीतिक दलहरुसँग पनि साझेदारी र र तालमेल गर्न सकिने बताएपछि त्यस्तै आशय हिजो माओवादी केन्द्रका नेता वर्षमान पुनले व्यक्त गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सिन्धुपाल्चोकको चौतारामा जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिँदै भन्नुभएको छ, ‘स्थानीय तहमाझैँ प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसको चलाखी अब चल्दैन ।

निर्वाचनमा सम्मानजनक बाँडफाँड नहुने भए गठबन्धन टुट्न सक्छ । ’ यता एकीकृत समाजवादीका नेताहरुले पनि नेपाली काँग्रेसले तालमेलमा सम्मानजनक व्यवहार नदेखाएको बताउँदै आएका छन् ।

तर,हिजो बसेको एकीकृत समाजवादी केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष माधवकुमार नेपालले आगामी संसदीय चुनावमा ओली नेतृत्वको एमालेलाई सम्पूर्णरुपले पराजित नगरेसम्म आफूहरुले गरेको विद्रोह र संघर्षको जित नहुने जानकारी गराउनु भएको छ ।

बैठकपछि हिजो सञ्चारकर्मीहरुसँग बोल्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमालेसँग वार्ता हुनको निम्ति पहिलो शर्तको रुपमा एमालेले एकीकृत समाजवादीको राजनीतिक दलको अस्तित्व स्वीकार्नुपर्ने बताउनु भएको छ ।

हिजैसाँझ विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा पार्टी महासचिव बेदुराम भुसाल पुग्नुभएको थियो । उहाँहरुबीच दुई घण्टा छलफल भएको एकीकृत समाजवादी केन्द्रीय कार्यालय स्रोतले बताएको छ ।

टिप्पणीहरू