एमाले सांसदको चर्को धारणा

एमाले सांसदको चर्को धारणा

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका सांसदहरु सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । सांसद योगेश भट्टराईले विशेष समयमा बोल्दै तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

प्रदेशहरुमा ३० प्रतिशत पाठ्यपुस्तकसमेत नपुगेको भन्दै उहाँले तत्काल पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो । काठमाडौंको मध्य शहरमा रहेको दरबार हाइस्कुलमा पनि पाठ्यपुस्तक नपुगेको भन्दै अध्ययन र अध्यापनमा अवरोध भएको उहाँको भनाइ छ ।

यता शून्य समयमा बोल्ने एमालेका अन्य माननीयहरुले सरकारको चर्को आलोचना गरेका छन् । सांसद कृष्ण राईले मेलम्ची खानेपानी आयोजनाका कारण बौद्ध र जोरपाटीका स्थानीयलाई सरकारले सास्ती दिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद खगराज अधिकारीले निर्माणाधीन पोखरा विमानस्थलमा भ्रष्टाचार भएको बताउँदै सरकारका मन्त्रीहरू कमिशनमा लिप्त भएको आरोप लगाउनुभयो ।

सांसद झपट रावलले संसदको शून्य समयलाई नसुन्ने समयको रूपमा परिवर्तन गर्न माग गर्नुभयो । सांसद कृष्णगोपाल श्रेष्ठले बजेट निर्माणमा अनाधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग आग्रह गर्नुभयो । उहाँले अर्थमन्त्री जनार्दन शर्माले तत्काल राजीनामा दिनु पर्ने बताउनुभयो ।

टिप्पणीहरू