जिससको चुनावमा भोट किनबेच, कंकालिनी मन्दिरमा पुर्याएर कसम खुवाइयो

जिससको चुनावमा भोट किनबेच, कंकालिनी मन्दिरमा पुर्याएर कसम खुवाइयो

जिल्ला समन्वय समिति (जिसस) सप्तरीको निर्वाचनमा मत किनबेचको खुलासा भएको छ । आज भएको निर्वाचनमा एक मत बराबर ५० हजार रुपैयाँमा किनबेच भएको प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् ।

स्रोतका अनुसार पैसा तिरेर किनेको भोटका लागि उम्मेदवारले भारदहस्थित कंकालिनी मन्दिरमा लगेर कसमसमेत खुवाएका थिए । आज बिहानै मतदाताहरू एकसाथ लाम्बद्ध भएर मन्दिरमा कसम खाएको एक प्रत्यक्षदर्शीले बताए ।

जिल्ला समवन्य समिति सप्तरीको प्रमुखमा तीन जना र उपप्रमुखमा दुई जनाले मनोनयन दर्ता गराएका थिए । जनता समाजवादी पार्टीबाट छेदी अरगरिया यादव, नेपाली काँग्रेसबाट शिवनारायण साह र गुञ्जेश्वरप्रसाद सन्तको उम्मेदवारी परेको छ । तर काँग्रेसले शिवनारायणलाई आधिकारिक मानेपछि गुञ्जेश्वरप्रसादले उम्मेदवारी फिर्ता लिएका थिए । अब प्रमुख पदमा दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।

उपप्रमुखमा नेकपा एमालेबाट देवकान्त चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट शम्भुकुमार यादवले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जानकारी दिएको छ ।

यसैगरी, खुला सदस्य तीन पदका लागि सात जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये जनता समाजवादी पार्टीबाट अवधेश मुखिया, माओवादी केन्द्रबाट गुल्टेन यादव, नेपाली कांग्रेसबाट जागेश्वर यादव, एमालेबाट जानुद्दिनमियाँ चुरौटे, रवीन्द्रनाथ चौधरी, जनमतबाट बुद्धिलाल चौधरी र लोकतान्त्रिक समाजवादीबाट सत्यनारायण मण्डलले उम्मेदवारी दर्ता गराएका थिए ।

महिलातर्फ तीन पदको लागि छ जनाले मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट आशाकुमारी तामाङ, आशादेवी झा, जनमतबाट धनवतिदेवी सरदार, काँग्रेसबाट रञ्जिताकुमारी चौधरी, नेकपा एमालेबाट बैजानाथ देवी थरुनी र एकीकृत समाजवादीबाट सविताकुमारी साहले उम्मेदवारी दर्ता गराएका छन् ।

दलित अल्पसंख्यकतर्फ एक पदका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । जसपाबाट वलदेव सरदार र एकीकृत समाजवादीबाट बौरही भगतले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिए ।

जिसस सप्तरीको निर्वाचनमा ३६ जना मतादाता छन् । जसमा काँग्रेस १२, जसपा आठ, लोसपा पाँच, एमाले चार, जनमत दुई, माओवादी दुई र नेकपा एकीकृत समाजवादीका दुई जना छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख जिससका मतदाता हुन् ।

टिप्पणीहरू