हेटौँडामा दिन थालियो ‘ट्रायल लाइसेन्स’ कार्ड
सवारी चालक अनुमतिपत्र प्राप्तीको निम्ति चालकहरुले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारले यातायात व्यवस्थापनको जिम्मा लिए पनि अझै यातायात सेवा विश्वासिलो र छरितो हुन सकेको छैन । तर यतिखेरै हेटौँडाबाट भने परीक्षणकालीन सवारी चालक अनुमतिपत्र (ट्रायल लाइसेन्स) वितरण गर्न थालिएको छ ।
यातायात व्यवस्था कार्यालय हेटौँडाले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका र ट्रायल पास गरेकालाई परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण गर्न थालेको हो । कार्यालयका अधिकृत राजु अर्यालका अनुसार नयाँ सवारीचालक तथा ग्रेड थपका लागि ट्रायल पास गरेकालाई राजश्व बुझाएको दिनमा परीक्षणकालीन सवारी चालक अनुमतिपत्र दिन थालिएको हो ।
यसअघि ट्रायल पास गरे पनि स्मार्ट कार्ड आउन बाँकी रहेकाले ट्राफिक प्रहरी चेकिङमा राजश्व बुझाएको नगदी रसिद देखाउँदै यात्रा गर्नुपर्ने बाध्यता थियो । ‘रसिद च्यात्तिने र हराउने समस्याले सेवाग्राहीहरु मर्कामा परेकाले स्मार्ट कार्ड प्राप्त हुनुअघिको अवधिका लागि ट्रायल लाइसेन्स दिने व्यवस्था गरेका हौँ,’ अधिकृत अर्यालले भने । ट्रायल लाइसेन्स कार्ड पनि स्मार्ट कार्डजत्तिकै बलियो र भरपर्दाे रहेको कार्यालयको दाबी छ ।
स्मार्ट कार्ड बनेर सेवाग्राहीको हातमा पर्न कम्तीमा नौ महिना लाग्ने भएकाले ट्रायल लाइसेन्सको व्यवस्था गरिएको कार्यालयको भनाइ छ ।
टिप्पणीहरू