निर्वाचन आयोगमा कम्युनिस्ट नाम जोडिएका पार्टीको संख्या १४ पुग्यो

निर्वाचन आयोगमा कम्युनिस्ट नाम जोडिएका पार्टीको संख्या १४ पुग्यो

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन ठूला वामपन्थी पार्टीहरु बीच एकताको बहस चलिरहँदा निर्वाचन आयोगमा दर्ता भएका कम्युनिस्ट पार्टीको संख्या डेढ दर्जन पुग्न लागेको छ । आयोगमा दर्ता भएका राजनीतिक दलहरुको अद्यावधिक सूचीमा ‘कम्युनिस्ट’ शव्द जोडिएका पार्टीमात्रै १४ वटा छन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले), तेस्रो ठूलो नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र चौंथो दल नेपाल कम्यिनिस्ट पार्टी (एकीकृत समाजवादी) आयोगमा अद्यावधिक छन् । त्यस्तै, नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी), नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी र माओवादी कम्युनिस्ट पार्टी नेपाल पनि दर्ता सूचीमा रहेका छन् ।

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टी माओवादी (पुष्पलाल), नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, नेपाल कम्यिनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी पनि आयोगमा दर्ता भएका कम्युनिस्ट पार्टी हुन् । त्यसबाहेक कम्युनिस्ट विचारधार बोकेका नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायतका पार्टीहरु पनि आयोगमा दर्ता छन् ।

यो संख्या अझै बढ्ने देखिएको छ । कम्युनिस्ट पार्टीको एकतामा जोड दिँदै हिजो मात्रै वामदेव गौतमले चुनावमा भाग लिने तयारीका साथ् ‘नेकपा एकता अभियान’ पार्टी घोषणा गर्नुभएको छ । उक्त पार्टी पनि आयोगमा दर्ता हुँदा कम्युनिस्टको संख्या बढ्ने छ ।

आयोगमा दर्ता नभएका र चुनावमा भाग नलिएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्यको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)लगायत पनि राष्ट्रिय राजनीतिमा क्रियाशील छन् ।

टिप्पणीहरू