पटक पटक रोकियो उपमहानगरपालिकाको नगरसभा
बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाको नगरसभा सम्पन्न हुन थप एक साता लाग्ने भएको छ । सल्लाह र समन्वयको अभावमा नीति तथा कार्यक्रम बजेट ल्याउन ढिलाइ भएको हो ।
गत शुक्रबार बकुलिया माध्यमिक विद्यालयको हलमा आयोजित कार्यक्रममा भाँडभैलो भएपछि नगरसभा स्थगित भएको हो । मेयर राजन पौडेलले पूर्वतयारीबिना नगरसभा डाँकेपछि नगर सदस्य र स्थानीयले आपत्ति जनाएका थिए । त्यसपछि मेयरले आक्रोशित हुँदै नगरसभा रोकेका हुन् ।
अस्ति सोमबार बोलाइएको नगरसभा पनि बिना निश्कर्ष नै टुंगिएको हो । नीति तथा बजेटमा पर्याप्त गृहकार्य नभएपछि कार्यक्रम फेरि पनि स्थगित गर्नुपरेको बताइन्छ । नीति कार्यक्रम अपुरो देखिएपछि सल्लाह गरेर नगरसभा स्थगित गरेको उपमेयर भोलाप्रसाद अधिकारीले बताए ।
हाल बजेटको विषयमा छलफल गरिरहेको उनको भनाइ छ । अबको एक सातामा नीति कार्यक्रम ल्याउने उनको दाबी छ । उपमहानगरका नवनिर्वाचित मेयरसँग अनुभवको कमी भएकाले पनि नीति कार्यक्रम ल्याउन ढिलाइ भएको नगरसभा सदस्यहरु बताउँछन् ।
साथै, उनको भड्किलो अभिव्यक्तिका कारण पटक पटक नगरसभा बीचमै रोक्नुपरेको बताइएको छ । यसअघि पनि उनले मञ्चमा बोलिरहेका उपमेयरको हातबाट माइक खोस्ने प्रयास गरेका थिए । मेयरले उपमेयरको बोल्ने पालोमा माइक खोस्न खोजेको भन्दै विरोध भएको थियो ।
सल्लाह र समन्वयमा नीति कार्यक्रम ल्याउन भने पनि मेयरले आफ्नै पारा चलाएकाले विवाद उत्पन्न भयो । नगरसभाको वातावरण नै असहज बनेको थियो । सोही कार्यक्रममा जायज माग राख्दा मेयरले असाधारण अभिव्यक्ति दिएपछि नगरसभामा आएका स्थानीयहरु क्रुद्ध बनेका थिए । बर्खा लाग्यो, सडकमा ग्राभेल बिच्छाइदिनुपर्यो भनेर माग गर्दा मेयर जंगिएको स्थानीयको आरोप छ ।
उनले ‘पहिले जुन मेयरले गरेको हो उसलाई नै गएर भन्नु’ भनेपछि स्थानीय आक्रोशित बनेका हुन् । नगरसभामा मेयर र स्थानीयबीच एकाएक भिडन्तको स्थिति बनेको थियो । यता, मेयरले नीति तथा कार्यक्रमबारे विस्तृत थाहा नपाइ बोलेपछि परिस्थिति र माहौल चर्काचर्कीमा परिणत भएको बताइन्छ ।
विधिवत रुपले नीति कार्यक्रम ल्याउन नसकेपछि मेयरको चर्को आलोचना भएको हो । उपमहानगरका मेयर पौडेल नेकपा माओवादी केन्द्रका हुन् भने उपमेयर नेकपा एमालेका ।
टिप्पणीहरू