हङकङको सम्बृध्दिमा ‘एक देश,दुई प्रणाली’ को योगदान
बेलायतले ९९ वर्षको शासनपछि चीनको दक्षिण–पूर्वी भागमा रहेको हङकङ सन् १९९७ को जुलाई १ तारिखका दिन फर्काएको हो । ‘एक देश,दुई प्रणाली’ को आधारमा शासन व्यवस्था कायम राखिएको हङकङमा पछिल्लो २५ वर्षमा थप समृध्दि प्राप्त भएको बताइन्छ ।
हङकङमा अपनाइएको उक्त व्यवस्थाले चीन अधिनस्थ हङकङ र मुख्य भूमिबीचको सम्बन्धसङ्गै आर्थिक,वित्तीय र सामाजिक विकासमा अद्वितीय योगदान पुर्याएको बताइन्छ । त्यहाँको एक्सचेञज तथा क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निकोलस अगुजिनका अनुसार यसबीच हङकङले विश्वको पूर्व र पश्चिमको अर्थतन्त्रलाई जोड्ने महत्वपूर्ण केन्द्रविन्दुको भूमिका निभाएको छ । जसमा मुख्यभूमि चीनको अतुलनीय सहयोग र समर्थन देखिन्छ ।
विश्वको खुल्ला अर्थतन्त्र,बजार, भौतिक पूर्वाधार र पुँजी बजारको विकासमा हङकङको भूमिका पारदर्शी र खुल्ला हुनुुले पनि त्यसलाई सहयोग पुगेको उनको विश्वास छ । अगुजिनले अप्रिल महिनाको अधिकाँश समय चीनको राजधानी बेइजिङ र सेन्जेनमा बिताएका थिए । जहाँ उनले त्यहाँका स्टक एक्सचेञ्ज,नियमनकारी निकाय र तीसँग सम्बन्धित व्यक्तिसँग भेटघाट गरेका हुन् । उनले भने,‘यी सबै काम मैले हङकङलाई कसरी अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रको रुपमा कायम राखिराख्न सकिन्छ भन्नेबारेमा गरेको हुँ ।’
विश्व अर्थतन्त्र र पुँजी बजारमा हङकङ,न्युयोर्क र लण्डनलाई ‘न्युलोङकङ’ को रुपमा चिन्न थालिएको छ । यी तीन स्थान विश्वका सबैभन्दा माथिल्लो स्तरका मुख्य तीन वित्तीय केन्द्र हुन् । बेलायती र सेन्जेनका दुई वटा संस्थाले हालै प्रकाशित गरेको ग्लोबल फिनान्सियल सेन्टर इण्डेक्सअनुसार विश्वमा अहिले पनि हङकङ वित्तीय केन्द्रको रुपमा तेस्रो स्थानमा कायम छ ।
गत मार्चमा हङकङ एक्सचेञ्जेज तथा क्लियरिङ लिमिटेडले हङकङ महत्वपूर्ण वित्तीय केन्द्र कायम रहनुको तीन वटा मुख्य आधारको घोषणा गरेको थियो । जसअनुसार यसले चीन र विश्वलाई जोडेको छ । पुँजीलाई अवसरसँग र आजलाई भोलिसँग जोडेको हुनाले हङकङको विश्वसनीयता झन् बढेको हो ।

अगुजिन भन्छन्, ‘हङकङको विश्वसनीयता नै सबैभन्दा महत्वपूर्ण हो । यसले विश्व अर्थतन्त्रलाई नै जोडेको छ जुन सबैभन्दा महत्वपूर्ण छ । यसले भावी दिनमा विश्व अर्थतन्त्र उकास्न झन् बढी सम्पर्कका माध्यम दिलाउने छ ।’
हङकङले विश्वलाई झैँ मुख्यभूमिलाई थप दरिलो बनाउन पनि उल्लेख्य भूमिका निभाएको छ । हङकङ एक्सचेञ्जेज तथा क्लियरिङ लिमिटेडले चीनको आर्थिक विकासलाई अन्तर्राष्ट्रिय लगानीकर्तासमक्ष पुर्याउने र चिनियाँ पुँजीलाई विश्वका विभिन्न अवसरसँग जोडिदिने पनि उनले विश्वास लिएका छन् ।
अगुजिन भन्छन्,‘हामी निकै महत्वपूर्ण अवस्थामा छौं । चीन र वरिपरिका बजार द्रुत गतिमा फैलिइरहेका छन् । पुँजी विस्तारको निम्ति निकै सहजता प्रदान गर्दै आएको हङकङले मुख्यभूमिका लगानीकर्ता तथा साझेदारहरुलाई निकै राम्रो अवसर उपलब्ध गराएको छ ।’
जेपी मोर्गान बैंकमा कार्यरत अगुजिन गत वर्षको मेमा हङकङ एक्सचेञ्जेज तथा क्लियरिङ लिमिटेडको मुख्य कार्यकारी बनेका हुन् । उनी पछिल्लो १० वर्षदेखि हङकङमा बस्दै आएका छन् । पछिल्लो २५ वर्षमा हङकङ एसियाका पुँजीबजारमध्ये सबैभन्दा आकर्षक रहँदै आएको छ । उसले एसियाकै अन्य वित्तीय केन्द्रको नेतृत्व पनि गरेको छ । साथै चीनको आर्थिक विकासमा पनि उसले त्यत्तिकै योगदान पुर्याएको बताइन्छ ।
बेलायतले चीनलाई हस्तान्तरण गरेपछि हङकङको स्टक मार्केट यो अवधिमा ४०७.८ बिलियन अमेरिकी डलरबाट ५.३७ ट्रिलियन डलरबढी पुगेको छ । त्यहाँको औसत दैनिक बजार २१.२५ बिलियन डलर पुगेको छ । २५ वर्षअघि उक्त अवस्था १.९१ बिलियन हङकङ डलरमा सीमित थियो ।
सन् २०१८ देखि हङकङ नयाँ अर्थतन्त्रको निम्ति मुख्य बजार, एसियाको सबैभन्दा ठूलो र विश्वको दोस्रो ठूलो बायोटेक हब बनेको हो । अब आगामी दिनमा पनि उसले उक्त हैसियतलाई कायम राख्नेमा अगुजिनले विश्वास व्यक्त गरेका छन् ।
उनी भन्छन्, ‘आगामी दिनमा पनि हङकङ र चीनको आर्थिक बृध्दि निरन्तर हुनेमा आशावादी छु । साथै क्षेत्रीय पुँजी बजारको रुपमा हङकङले आफ्नो पहिचानलाई कायम राख्दै भावी दिनहरु हङकङको सुनौलो रहेकोमा कुनै द्विविधा छैन ।’
टिप्पणीहरू