निजगढ मुद्दामा श्रीमानहरु दुईतिर

निजगढ मुद्दामा श्रीमानहरु दुईतिर

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सर्वोच्च अदालततको आदेशमा न्यायाधीशहरुको फरक राय आएको छ । पाँच जनाको बृहत पूर्ण इजलासमा रहनुभएको न्यायाधीशमध्ये तीन जना एकातिर र दुई जना अर्कातिर देखिनुभएको हो ।

गत जेठ १२ गतेको पूर्ण इजलासको फैसलाको पूर्ण पाठ सार्वजनिक हुँदा उहाँहरुको राय बाझिएको हो । यसअघि सर्वाेच्चको बृहत पूर्ण इजलासले सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरु उत्प्रेषणको आदेशबाट बदर गरेको थियो ।

सोही फैसलाको पूर्ण पाठ हिजो सार्वजनिक भएको हो । बृहत्त पूर्ण इजालासमा रहेका पाँच न्यायाधीशमध्ये तीन श्रीमानको मत एकातिर छ भने अर्काे दुई न्यायाधीशको फरक मत प्रस्तुत गरेका छन् ।

बृहत पूर्ण इजलासमा रहनुभएका न्यायाधीशहरुमध्ये हरिकृष्ण कार्की र मनोज शर्माले निजगढमै विमानस्थल बनाउन सकिने राय दिनुभएको छ । तर विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले निजगढको विकल्प खोज्नु पर्ने राय दिनुभएको हो । उहाँहरुले विज्ञहरुबाट अध्ययन गराएर उपयुक्त स्थानमा विमानस्थल निर्माण गरिनुपर्ने राय पनि लेख्नुभएको छ ।

फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘उल्लिखित वन क्षेत्रको रुख कटान गर्ने सम्बन्धमा गरिएको निर्णय तथा उपरोक्त उल्लिखित निर्णय, सूचना, प्रतिवेदनसमेतका आधारमा भए गरिएका कामकारवाही त्रुटिपूर्ण देखिएको हुँदा उत्प्रेषणको आदेशले बदर हुने छ । सर्वोच्चले निजगढमा विमानस्थल निर्माण गर्ने गरी नेपाल सरकार, मन्त्रिपरिषद्बाट २०७१ फागुन २९ मा गरिएको निर्णय, सोही वर्ष चैत ३० मा तोकिएको चार किल्लाको सूचना र त्यही आधार मानेर निर्माण गरिएको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन कार्यान्वयनमा समेत रोक लगाएको छ ।’

यस्तै छनौट गरिएको स्थानको वातावरण प्रभाव मूल्याङ्कन कानूनी विधि र प्रक्रियाअनुसार गराई विज्ञ समूहबाट राय ठहरसहितको प्रतिवेदन लिएर कहाँ, कुन ठाउँको कति क्षेत्रफल जग्गामा कति क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु पर्ने हो भन्ने कुरा यकीन गर्नुपर्ने पनि आदेशमा भनिएको छ ।

विमानस्थल कहाँ बनाउने, कस्तो बनाउने, कुन आकारको बनाउने भन्ने कुरा कार्यकारिणीको क्षेत्राधिकारको विषय भएकाले यसमा धेरै वादविवाद वा छलफल गरिरहनु आवश्यक नै नभएको तर कार्यकारिणी प्रकृतिका काम कारबाही वा निर्णय पनि संविधान तथा कानूनसम्मत नै हुनुपर्ने सर्वोच्चको ठहर छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/nijgad-1.pdf” title=”nijgad (1)”]

टिप्पणीहरू