साउनसम्ममा मेसिन दिए मङ्ग्सिरमा विद्युतीय मतदान

साउनसम्ममा मेसिन दिए मङ्ग्सिरमा विद्युतीय मतदान

निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतीय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले गृह मन्त्रालयमार्फत सरकारलाई उक्त खबर पठाएको हो ।

निर्वाचन ब्यवस्थापन प्रक्रियालाई छरितो,सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्वन्धी कानूनमा भएको व्यवस्थासमेतको आधारमा इभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धी अध्ययन गर्न आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाइएको आयोगले जनाएको छ ।

‘आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा इभीएमको प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त प्रतिवेदनमा उल्लेख भएबमोजिमको स्वदेशमा निर्मित इभीएम तत्काल व्यवस्थापन हुनसक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित इभीएमको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ,’ आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले संविधान तथा संघीय कानूनबमोजिम हुने राष्ट्रपति,उप राष्ट्रपति,संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा इभीएम प्रयोग गर्न सक्ने कानूनी व्यवस्था रहेको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले छ वटा निर्वाचन क्षेत्रहरूमा इभीएम प्रयोग गरेको थियो । २०७१ सालको संविधानसभा उपनिर्वाचनमा बर्दिया, बागलुङ,काठमाडौं,कैलालीलगायत पाँचवटा निर्वाचन क्षेत्रहरूमा इभीएमको सफलतापूर्वक प्रयोग गरिएको थियो ।

टिप्पणीहरू