‘मानवले मानवसँग गरेको विवाह कसरी अन्तरजातीय हुन्छ ?’
एक्काइसौं शताब्दीमा आइपुग्दा पनि नेपाली समाज र जनमानसको सोचमा परिवर्तन हुन नसकेको निश्कर्ष निकालिएको छ । समाजमा कथित माथिल्लो र तल्लो जातका कारण कतिपय अन्तरजातीय विवाहमा केटाकेटीले मृत्युवरणसमेत गर्नुपरेको सुनिन्छ ।
राजधानीमा मार्टिन चौतारीले हिजो आयोजना गरेको अन्तरजातीय विवाहसम्बन्धी छलफलका सहभागीहरुले उक्त निचोड निकालेका हुन् । समता फाउण्डेशनको आयोजनामा भएको छलफलमा मानवशास्त्री डा.मधु गिरी,लेखक तथा नागरिक अभियन्ता सन्तोष परियार र अधिवक्ता पुनदेवी महर्जनले अन्तरजातीय विवाहले समाजमा पारेको सकारात्मक र नकारात्मक प्रभावबारे धारणा राखेका थिए ।
लेखक परियारले नेपालीको हरेक स्वासमा जात भएको बताए । जातीय विभेदले गर्दा विवाह भन्ने संस्कार नै संकटमा परेको उनको बुझाइ छ । यस्तै तरिकाले अघि बढे भोलिका दिनमा विवाह झनै जटिल हुने परियारको बुझाइ छ । उनी भन्छन्,‘जातीय विभेद हाम्रो समाजको हरेक तहमा छ । हामी कहाँ उभिएका छौं त्यसले मात्र फरक पार्छ ।’
त्यसैगरी,अधिवक्ता महर्जनले जातीय विभेदविरुध्द ऐन कानून आए पनि आमनागरिकमा चेतना नआएको अहिले पनि देखिएको अन्तरजातीय विवाहको समस्याले उजागर गरेको बताइन् । मानवता भन्ने चीज हराएकाले नेपाली समाज जातीय विभेदमुक्त हुन नसकेको महर्जनको ठहर छ ।
नेपालको संविधानमा जातीय छुवाछुतको अन्त्य भनिएको छ । तर व्यवहारमा लागु नहुनु अत्यन्तै दुःखदायी भएको उनले सुनाइन् । छुवाछुत गर्नेलाई कानूनबमोजिम कारबाही गर्ने नियम बने पनि यस्ता घटनामा कमी नआउनुमा उनले दुःखेसो पोखेकी हुन् । उनको प्रश्न छ, ‘मानवले मानवसँग गरेको विवाह कसरी अन्तरजातीय हुन्छ ?’
यता,मानवशास्त्री गिरीले दलितमा मात्र नभई गैरदलितमा पनि यसले ठूलो प्रभाव पारिरहेको बताए । उनका अनुसार यसले गर्दा नयाँ थरको उत्पत्ति हुन थालेको छ । यो पनि अन्तरजातीय विवाहको परिभाषा अन्त्य गर्ने यात्रामा ठूलो अवरोध उनको भनाइ छ ।
टिप्पणीहरू