देउवाका बिपक्षीको आज पनि जारी भेलामा को-को गए ?

देउवाका बिपक्षीको आज पनि जारी भेलामा को-को गए ?

नेपाली काँग्रेस संस्थापन इतर समूहको बैठक आज पनि जारी छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा दिउँसो ३ बजे शुरु भएको बैठकलाई नेता डाक्टर शेखर कोइरालाले अध्यक्षता गरेका छन् । हिजोदेखि शुरु भएको बैठकमा समसामयिक विषयमा छलफल गर्ने भनिएको छ ।

बैठकमा महामन्त्री गगन थापा पनि सहभागी छन् । त्यस्तै केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी,बलबहादुर केसी ,रञ्जित कर्ण,मुक्ता यादव, सीतादेवी यादव र सरिता प्रसाईँको उपस्थिति रहेको छ।

नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्य र युवराज पाण्डे पनि सहभागी छन् । त्यसैसरी नेविसंघका पूर्व उपाध्यक्ष डिल्लीराम सुवेदी , खोटाङका पूर्व जिल्ला सभापति सुवास पोखरेल समेत भेलामा सहभागी भएको बुझिएको छ ।त्यस्तै स्व.गिरिजाप्र.कोइरालाका स्वकीय सचिव गोकर्ण पौडेल पनि कोइराला समूहमा खुलेका छन् ।

पूर्व केन्द्रीय सदस्यहरूमा रत्ना शेरचन,रामकृष्ण यादव छन् भने सांसद सञ्जय गौतम पनि सहभागी छन् । बैठकमा केन्द्रीय सदस्य,जिल्ला सभापति र पूर्व सभापतिहरू गरी २ दर्जनभन्दा बढीको सहभागी भएको बताइएको छ ।

कोइराला समूहले सार्वजनिक रूपमै सभापति शेरबहादुर देउवाको आलोचना गर्दै आएको छ । सभापति देउवा विधि र विधानअनुसार नचलेको,स्थानीय निर्वाचन सकिएको डेढ महिना बितिसक्दा पनि काँग्रेसले निर्वाचनको मत परिणामबारे समीक्षा नगरेको आरोप छ।

त्यस्तै सभापतिले सरकार र पार्टीको काम सङ्गसङ्गै गर्न नसकेको,१४ औँ महाधिवेशन सकिएको ६ महिना बितिसक्दा पनि पदाधिकारी,समिति र भातृ सङ्गठनलाई पूर्णता दिन नसकेको आरोप कोइराला पक्षले लगाउँदै आएको छ।

टिप्पणीहरू