नेता बूढा, पार्टी बच्चा– खेल कच्चा
भर्खरै बनेको पार्टी । नेता त बूढाखाडा छन्, तर संगठन काँचै छ । त्यस्तो पार्टीभित्र नयाँ अन्तर्विरोधको भरमार छ । प्रसंग हो, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को । अहिले झलनाथ खनाल आफूलाई संसदीय दलको नेता बनाइदिए हुन्थ्यो भन्ने चाहँदै हुनुहुन्छ ।
केपी ओलीले भएभरका पद ओगटेकोमा विधि, प्रक्रियाको प्रश्न उठाउनु हुने उहाँले केही नेतासँगको भेटमा भन्नु पनि भयो, ‘संसदका साथीहरु नेतृत्वसँग असन्तुष्ट छन् । ती साथीहरुको असन्तुष्टि हल नगरी हुन्न ।’ यो भनेको ‘म भए हुन्थ्यो’ भन्न खोजेको हुनुपर्छ भन्ने ती नेताको ठहर छ ।
अहिले सुन व्यापारी हिराचन्द्र केसीलाई स्वास्थ्य मन्त्रालयमा लाने जोडबल उहाँकै हो । उनलाई मन्त्री बनाउने अडान राखेपछि राज्यमन्त्री बनाउन ठिक्क पारिएकी समिना हुसेनमात्रै निराश भइनन्, महिला प्रतिनिधित्वको प्रश्नलाई उठाएर रामकुमारी झाँक्रीहरुले नेतृत्वलाई आच्छु–आच्छु नै पारिदिए ।
खासमा अंकगणितीय सचेतता नअपनाउँदा यस्तो भएको उक्त पार्टीका नेताहरु बताउँछन् । उनीहरु भन्छन्, ‘मन्त्री फेर्ने काम कि बजेट आउनुअघि ६ महिने भाका नाघ्नासाथ नै गर्नुपथ्र्यो, कि बजेटको काम सकिएपछि गर्नुपथ्र्यो ।’ कतिपय मन्त्रीले नेतृत्व गलिहाल्छ कि भनेर पद टिकाउन अनेक कोशिश गरे । तर, सकेनन् र अन्तिममा रुवाबासी गर्दै पद छाडे । त्यसबारे एकजना नेता भन्छन्, ‘एउटा कुकुर दौडिरहेको गाडीको पछाडि भुक्दै भुक्दै दौडिन्छ, तर गाडी रोकियो भने भाग्छ ।’
मन्त्रिपरिषद्मा समाजवादीका नयाँ अनुहार थपिनुअघि सबैखाले औषधीको मूल्यवृद्धि गरिँदै थियो । त्यसमा आरजु देउवाको हात छ भनिन्छ । त्यसका लागि पनि विरोध खतिवडाले केही दिन जसरी पनि म्याद थपाउन खोजेको चर्चा गरिन्छ । अघिल्ला मन्त्रीहरु रहिरहेकै भए पनि मंसिरसम्मका मात्रै हुन्थे ।
अहिले भएका मन्त्री पनि त्यही मंसिरसम्मका लागि हुन् । पुराना मन्त्रीले विभिन्न एजेन्सी (ठेकेदार, कर्मचारी) हरुसँग जे–जे डिल गरेका थिए, त्यो पूरा हुन नपाउँदा पीर परेको हुनुपर्ने समाजवादीका एक नेता बताउँछन् । हटेका मन्त्रीमध्ये खेल्नुसम्म खेलेर अन्तिममा राजीनामा दिएपछि सर्वाेच्च अदालतले अश्लील बोलीबापत डाम्नुअगाडि नै प्रेम आलेले ‘पाप पखालेको’ समेत भन्ने गरिन्छ ।
उनको भनाइमा लागेर कृष्णलाल महर्जनले मन्त्री हटाउने प्रस्तावको विरोधमा निकालिएको विज्ञप्तिमा हस्ताक्षर गरे । हस्ताक्षर त भोलिपल्टै फिर्ता लिए । तर, खासमा उनी आफैँ पनि मन्त्रीका आकांक्षी थिए ।
समाजवादीको अबको बाटो के हुन्छ भन्नेबारे नेताहरुको धारणा फरक फरक छ । पार्टीको प्रमुख अन्तर्विरोध अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादसँग हो कि केपी ओलीसँग मात्रै ? भनिन्छ, यो कुरा तय गरेपछिमात्र एकताको कुरा हुन्छ । नत्र, एमालेसँग भइहाल्यो भने समायोजनमात्रै हो, ०५८ मा वामदेवको मालेजस्तो ।
अहिले कम्युनिष्टहरु मिलाउनुपर्छ भन्ने लाइन चीनको छ । केपी ओलीको चरित्र र कार्यशैलीप्रति उनीहरु प्रष्ट छन् । त्यसैलै ओलीका कारण कम्युनिष्टहरु एक ठाउँमा उभिन तत्काल गाह्रो छ । चिनियाँसँग माधव नेपालभन्दा झलनाथ खनालको निकटता राम्रो छ । शायद, त्यसैले हुनुपर्छ झलनाथ वाम एकता वा गठबन्धनको पक्षमा अलिक बढी बोलिरहनुभएको छ ।
उता, एमसिसी र एसपिपीमा एमालेको संलग्नता प्रमाणित भइसकेको छ । चीनसँग आफैंले बिआरआईमा हस्ताक्षर गर्ने, आफू तीन वर्षसम्म चूप लागेर बस्ने, तर अहिलेको सरकारसँग बिआरआई खोई ? भनेर सोध्ने अचम्मको कार्यशैली छ । आफ्ना कमजोरीबारे छलफल गर्नेभन्दा बढी समाजवादीले मन्त्री फेर्न नसकेकोमा खिसीट्युरी बढी गर्ने प्रवृत्ति ओलीमा देखिन्छ ।
टिप्पणीहरू