नक्कली सिमकार्डबाट बैंकको पैसा तान्दातान्दै
सिमकार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा एक जना बानेश्वरबाट समातिएका छन् ।
विदेश पठाइदिने प्रलोभनमा बिभिन्न व्यक्तिसँग राहदानी र नागरिकता मागेर त्यसैका आधारमा सिमकार्ड निकालेको आरोपमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बजगाईले सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएपमा वैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भनी व्यक्तिहरुको सक्कल राहदानी,नागरिकता, सम्पत्ति विवरण लिने गरेका थिए । उनले पीडितको नागरिकताबाट सिमकार्डसमेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका बजगाईले पीडितको नाममा मोबाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकमसमेत निकाली ठगी गर्ने कार्यमा संलग्न रहेको खुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
टिप्पणीहरू