पाँचथरको पहिरोमा ३ बेपत्ता, मेलम्चीमा घनघोर वर्षा
अस्तिदेखिको लगातारको वर्षाका कारण गएराति पाँचथरमा तीन जना बेपत्ता भएका छन् । पहिरोले घर बगाउँदा उनीहरु बेपत्ता भएका हुन् । फालेलुङ गाउँपालिका–७, विहीदिन रातमाटेमा रुपलाल मगरको घर पहिराले बगाएको हो ।
पहिरोमा ४५ वर्षीय रुपलाल, उनकी श्रीमती ४५ वर्षीया गोमा मगर र १९ वर्षीया नातिनी एलिसा मगर बेपत्ता भएको प्रहरीले जनाएको छ । घरमा रहेका चार जनामध्ये रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर जोगिएका छन् । रुपलालको घर तथा गोठ बगाएको छ ।
उद्धारका लागि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ ।
यता, सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा गत सातादेखि मुसलधारे पानी परिरहेको छ । सो क्षेत्रका गुम्थाङ, धाप, नकोटेमा ठूलो वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
मेलम्ची नदीको जलसतह डेढ मिटर माथि आएको छ । अझै केही दिन मुसलधारे पानी पर्ने देखिएकाले तल्लो तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।
टिप्पणीहरू