हेटौंडामा चलाइयो सरकार परिवर्तनको चर्चा

हेटौंडामा चलाइयो सरकार परिवर्तनको चर्चा

वागमती प्रदेशमा नेपाली काँग्रेसले सरकारको बाँकी अवधिको नेतृत्वका निम्ति दाबी पेश गरेको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नेतृत्व गर्नु भएको प्रदेश सरकार परिवर्तन गरेर काँग्रेसका ईन्द्रबहादुर बानियाँ तत्काल मुख्यमन्त्री हुने चर्चा गर्न थालिएको हो ।

अघिल्लो वर्ष कात्तिक ११ गते एकीकृत समाजवादीको नेतृत्वमा गठित काँग्रेस र माओवादी सम्मिलित सरकारबारे जिल्ला र प्रदेश तहमा जतिसुकै चर्चा भए पनि केन्द्रीय गठबन्धनको नेतृत्वकर्ता एउटा टुंगोमा नपुगेसम्म फेरबदलको सम्भावना नरहेको बताइन्छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा आज राजधानीमा बसेको संसदीय दलको बैठकपछि वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले मुख्यमन्त्रीले राजीनामा दिने वा सरकार परिवर्तनको विषय प्रदेशस्तरीय नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रीय गठबन्धनले निर्देश गरेमा मुख्यमन्त्रीज्यूले राजीनामा दिनुहुन्छ, अन्यथा हल्लाको अर्थ छैन ।’ आजको बैठक सरकार परिवर्तनलगायत विषयमा छलफल गर्न बोलाइएको थियो । तर पारित भएको बजेट कार्यान्वयन,छुट भएका शीर्षकको व्यवस्थापनलगायत विषयमा पनि छलफल भएको मन्त्री खनालले जानकारी दिनुभयो ।

वागमतीमा सरकार परिवर्तन गर्ने नै हो भने गठबन्धनले अन्य कुन प्रदेशमा समाजवादीलाई नेतृत्व दिनेबारे किटान हुनुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार अन्य प्रदेशमा नेतृत्व ग्यारेन्टी भएपछि मात्रै वागमती प्रदेशमा सरकार परिवर्तन हुन्छ ।

यसअघि जनआस्थासँग कुराकानी गर्दै प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री बसुन्धरा हुमागाईले संसदीय दलको बैठक सरकार परिवर्तनबारेको हल्लाका लागि नडाकिएको बताउनुभएको थियो । उहाँले नियमित र पूर्वनिर्धारित बैठक भन्दै केन्द्रीय गठबन्धनको निर्देशनलाई शिरोपर गरिने भएकाले सरकार परिवर्तनबारे आफूलाई केही जानकारी नभएको जानकारी दिनुभयो ।

‘समाजवादीले अहिले सातमध्ये दुई वटा प्रदेशको नेतृत्व गरेको छ, वागमतीको सरकार विस्थापन गर्दा अर्को कुन प्रदेशको नेतृत्व पाउने भन्ने ग्यारेन्टी हुनुपर्ला नि !’, मन्त्री हुमागाईंको भनाई थियो, ‘यी सबै कुरा केन्द्रीय गठबन्धनमा निर्भर छ ।’

तर काँग्रेस र माओवादीले भने समाजवादी नेतृत्वको सरकार विस्थापन गरी बानियाँ नेतृत्वको सरकार गठन गर्न हस्ताक्षर संकलन गरेको छ । त्यससँगै बानियाँ र पाण्डेले छ महिना प्रदेशको नेतृत्व गर्ने भन्नेबारे यसअघि गरिएको भनिएको लिखत पनि सार्वजनिक गरिएको छ । माओवादी र काँग्रेसका प्रदेश तहका नेताहरु लिखित सहमति कार्यान्वयनको पक्षमा देखिन्छन् ।

सांसदहरुको हस्ताक्षर संकलन मुख्यमन्त्री पाण्डेविरुद्ध अविश्वासको प्रस्तावका लागिभन्दा पनि पाण्डेको विस्थापनपछि बन्ने नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई बुझाउनको निम्ति भएको काँग्रेस संसदीय दलका नेता एवम् बागमती प्रदेश सभापति बानियाँले बताउनुभयो । प्रदेश सभामा अहिले एक सय सात सांसद रहेकामा एमाले ४१, माओवादी २३, नेपाली काँग्रेस २२, समाजवादी १३, विवेकशील साझाका ती, मजदुर किसान पार्टी दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र जनता समाजवादी पार्टीका एक जना छन् ।

माओवादी, काँग्रेस, समाजवादी र जनता समाजवादीसहितको गठबन्धन सरकारमा बहुमत अर्थात ५९ जना सांसद छन् । यता एमालेले सरकार गठन गर्न समस्या परेमा जोकोहीलाई सहयोग गर्न सकिने बताउँदै गठबन्धन फुटाउन पहल गरिरहेको छ । यद्यपि, गठबन्धनले उक्त प्रयासलाई कुनै राजनीतिक मूल्य नदिएको बताइन्छ ।

टिप्पणीहरू