जनयुद्धका लडाकू कमाण्डरको सडकमा प्राणान्त

जनयुद्धका लडाकू कमाण्डरको सडकमा प्राणान्त

कालिकोटको तिला गुफा गाउँपालिका घर भएका नमराज न्यौपाने ‘सेवक’ २ दिनअघि सडक पेटीमै अस्ताए । माओवादी जनयुध्दमा समर्पित उनले उपचारको अभावमा बसेकै ठाउँमा प्राण त्याग्नु पर्‍यो ।

पश्चिम नेपालमा भएका कयौँ लडाइँमा बम बारुदसँग खेल्दै आएका उनी धेरै लडाइँमा घाइते बनेका थिए । उनको साहसलाई कदर गर्दै सङ्गठनले सेक्सन कमाण्डरको जिम्मेवारी पनि दियो ।शान्ति प्रक्रिया शुरु भएर माओवादी जनमुक्ति सेना शिविरमा पसेपछि अनमिनले प्रमाणीकरण गर्दा उनलाई अयोग्य ठहर्याएर घर पठाइयो ।

जनयुध्दको क्रममा घाइते सेवकका शरीरमा अनगिन्ती गोली र बमका छर्रा थिए । लामो समयसम्म उपचार नपाएपछि घाउहरू बल्झिए । सरकार र माओवादी पार्टीले उपचारमा कुनै वास्ता नगरेपछि सेवक परिवारको पहलमा काठमाडौँ आएको बुझिन्छ । उपचार गर्न भनेर कालिकोटबाट काठमाडौँ आए पनि न उपचार हुन सक्यो न त राम्रो बस्ने र खाने व्यवस्था नै भयो । नियमित औषधि उपचार गर्न नपाएपछि सेवकलाई युद्धका घाउले चेप्दै गयो । सेवक काठमाडौँ आएपछि पार्टीका धेरै नेताहरूलाई फोन गरेर आफ्नो अवस्था नाजुक बन्दै गएको जानकारी गराउँदै उपचारको पहल गरिदिन आग्रह गरेको बताइन्छ।

आफ्नै पार्टी सरकारमा छँदा उपचार दिलाइयोस् भन्दै माइती घरमा आमरण अनसन बसेका घाइते योद्धालाई तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा पक्राउसमेत गरिएको थियो ।

अन्ततः कयौँ लडाइँको मैदानमा गोलीले छियाछिया पार्दा पनि ढल्न नसकेको कमरेड “सेवक” उपचारको खोजीमा भौतारिदा भौतारिदै बाटोमै स-शरीर शालिक बन्दा केन्द्रीय कमिटीको बैठकमा जुटेका माओवादी कमरेडहरुलाई गिज्याई रहेको गुनासो छ ।

टिप्पणीहरू