कालीगण्डकी र म्याग्दीखोलाको किनार पुग्यो संसदीय समिति
-अमृत बास्कुने
व्यवस्थापिका संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीको दुईतर्फ म्याग्दी र काली नदीको निर्माणाधीन तटबन्ध स्थलगत अनुगमन र निरीक्षण गरेको छ । समितिद्वारा सदरमुकाम बेनीबजारलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दीखोलाको किनारमा निर्माणाधीन तटबन्धको अनुगमन गरिएको हो ।
म्याग्दीबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको संयोजकत्वमा समिति सदस्यहरु घनश्याम खतिवडा, राजबहादुर बुढा क्षेत्री, पोल्देनछोपाङ गुरुङ, लालकाजी गुरुङ सम्मिलित संसदीय समिति तथा बेनी नगरपालिकाका प्रमुख सुरत केसी,७ नम्बर वडाका अध्यक्ष रमेशकुमार श्रेष्ठ र निर्माण कम्पनीका राजकुमार श्रेष्ठसहितको टोलीले अनुगमन गरेको हो ।
टोलीले बेनीबजार र गलेश्वर बजार संरक्षणका लागि विभिन्न चार ठाउँमा निर्माणाधीन नदी तटबन्धको अनुगमन गरेको म्याग्दीका सांसद भुपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । संसदीय समितिसहितको टोलीले बेनी नगरपालिका–८,को कालीपुल, बेनी–७, म्याग्दी जेसीजको भवन अगाडि,मङ्गलाघाट र बेनी नगरपालिका–९, गलेश्वरमा नदी तटबन्ध निर्माणस्थलको अनुगमन गरिएको उहाँले बताउनुभयो । गत चैतदेखि तटबन्ध निर्माणको काम थालिएकोमा पहिलो चरणको करिब ४० प्रतिशत काम सकिएको बताइएको छ ।
रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले रौतहट बि एण्ड बि काठमाडौंमार्फत् माउण्ट धौलागिरि कन्स्ट्रक्सन म्याग्दीले नदी तटबन्ध निर्माणको कामको जिम्मेवारी लिएको छ । दुई वर्षका लागि नौ करोड ४५ लाख रुपैयाँको लागतमा नदी किनारमा तटबन्ध निर्माणको जिम्मेवारी आफूले पाएकोमा अहिले नियमित रुपमा काम भइरहेको निर्माण कम्पनीका सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार दैनिक ५० जना मजदुर परिचालित छन् । प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको पहलमा जोखिममा रहेको सदरमुकाम जोगाउने कार्यक्रमअनुसार गत वर्षदेखि बहुवर्षे ठेक्कामार्फत नदी किनारमा तटबन्ध निर्माणको काम थालिएको थियो । स्थलगत अनुगमनपछि काम सन्तोषजनक रहेको प्रतिनिधि सभा सदस्य थापाले बताउनुभयो ।
बेनीको मंगलाघाट क्षेत्रमा उपभोक्ता समिति र ठेक्कामार्फत ८० मीटर ग्याबिन जाली लगाइएको छ भने गलेश्वरमा उपभोक्ता समितिमार्फत ३ सय २० मिटर लामो ग्याबिन जाली लगाइएको छ । यसैगरी कालीपुल क्षेत्रमा ८० मिटर कंक्रिट वाल लगाइएको छ भने जेसीज भवन मुन्तिरको भागमा उपभोक्ता समितिले २ सय ६६ मिटर ग्याबिन जाली लगाएको हो । रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत कालीपुल बसपार्कमा रेलिङ निर्माण भएको छ भने सर्वसाधारण हिँडडुल गर्नका लागि ब्लक राखेर तीन मिटरको फुटपाथ निर्माण गर्न लागिएको छ ।
यसअघि संसदीय समितिको टोलीले मुस्ताङको जोमसोम बजार संरक्षणको कालिगण्डकी तटबन्ध, म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको पनि अनुगमन गरेको थियो । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण भइरहेको राहुघाट जलविद्युत आयोजनाको ४५ प्रतिशत भौतिक प्रगति देखिएको समिति सदस्य एवम् मोरङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले बताउनुभयो ।
आयोजना निर्माणमा ८० प्रतिशत भारत र २० प्रतिशत नेपालको लगानी छ । नेपालको तर्फबाट स्थानीय मजदुर र निर्माण सामग्री प्रयोग भएको हो ।
टिप्पणीहरू