बन्दी र माझी छाड्न भारत र पाकिस्तान तयार

बन्दी र माझी छाड्न भारत र पाकिस्तान तयार

भारत र पाकिस्तानले आफ्ना मुलुकको हिरासतमा रहेका आ-आफ्ना बन्दी र माझी रिहा गर्न उनीहरुको नामसहितको सूची आदानप्रदान गरेका छन् । उनीहरुले अस्ति शुक्रबार सूची हस्तान्तरण गरेका हुन् ।

भारतले तीन सय नौ जना पाकिस्तानी बन्दी र ९५ जना माझी आफ्नो हिरासतमा रहेको सूची दिएको छ भने पाकिस्तानले ४९ नागरिक बन्दी र छ सय ३३ जना माझी आफ्नो हिरासतमा रहेको सूची दिएको छ ।

यी दुई मुलुकले यस्तो सूची प्रत्येक वर्ष दुई पटक आदानप्रदान गर्दै आएका छन् । सामान्यतयाः जनवरी १ र जुलाई १ का दिन त्यस्तो सूची आदानप्रदान गरिन्छ । भारत र पाकिस्तानले सन् २००८ को सम्झौताअनुसार त्यसपछि आफ्नो हिरासतमा रहेका बन्दी र माझीको सूची आदानप्रदान गर्न थालेका हुन् ।

यता भारतले पाकिस्तानलाई बाँकी एक सय पाँच जना भारतीय माझी र २० जना बन्दीलाई तत्काल रिहा गर्न पनि आग्रह गरेको छ । भारतीय विदेश मन्त्रालयले भारत एक अर्काको देशमा रहेका बन्दी, माझीलगायत सबैलाई मानवीयताका आधारमा सम्बोधन गर्न तयार रहेको जनाएको छ ।उसले पाकिस्तानलाई राष्ट्रियता पुष्टि हुन नसकेको कारण स्वदेश फिर्ता हुन बाँकी पाकिस्तानी माझीसहित ५७ बन्दीको राष्ट्रियता स्पष्ट पार्न ताकेता गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

टिप्पणीहरू