व्यक्ति हत्याको बात लागेका मेयर अन्ततः समातिए

व्यक्ति हत्याको बात लागेका मेयर अन्ततः समातिए

अछामको पञ्चदेवल विनायक नगरपालिका–४, कालिकास्थान कुच्चीका विनोद शाहीको हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । घटना भएको करिब एक महिनापछि हत्याको अभियोगमा नगर प्रमुख अम्बिका चलाउने र नेत्र शाहीलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पाँच जनालाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर, किटानी जाहेरी परेपनि मेयर चलाउने पक्राउ परेका थिएनन् । राजनीतिक प्रभावका आधारमा उनलाई जोगाउन खोजेको भन्दै पीडित पक्ष आन्दोलनमा छ ।

अछामका प्रहरी प्रमुख नारायण डाँगीका अनुसार मेयर चलाउनेविरुद्ध किटानी जाहेरी परेकाले पक्राउ गरिएको हो । मृतकका दाइ डम्बर शाहीले काँग्रेसबाट निर्वाचित नगरप्रमुख चलाउने, जिल्ला समन्वय समिति उपप्रमुख दानमती शाही र पूर्ववडाध्यक्ष सज्जन शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसमध्ये सात जनालाई प्रहरीले पक्राउ गरेको हो । अन्य छ जना भने फरार छन् ।

गत जेठ २१ गते घर नजिकैको भिरमा मृत भेटिएका शाहीको हत्या भएको भन्दै उनका परिवार र आफन्तले सत्यतथ्य छानविनको माग गर्दै आएका छन् । किटानी जाहेरी परेका व्यक्ति पक्राउ नपर्दा हत्याजस्तो जघन्य अपराधको घटना सामसुम पार्न खोजेको आशंकामा स्थानीय राजनीतिक दलसहित पीडित पक्ष आन्दोलनमा उत्रिएको छ ।

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र विप्लव नेतृत्वको नेकपाले अछाममा आज र भोलि चक्काजाम घोषणा गरेका हुन् ।

टिप्पणीहरू