थप गुण लगाइदिनु पर्दैन अब कसैलाई

थप गुण लगाइदिनु पर्दैन अब कसैलाई

– वैकुण्ठ ढकाल

असार ४ गते शनिवार एउटा टेलिभिजनबाट प्रसारित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भने, ‘अब नेपालका जति पनि पूर्वप्रधानमन्त्री हुनुहुन्छ, उहाँहरूले प्रधानमन्त्री भएर थप गुण लगाइदिनुपर्ने कारण छैन । हाम्रो पुस्तालाई मौका दिनुहोस् ।’

थापाले आफूलाई प्रधानमन्त्रीका दाबेदारको रूपमा उभ्याएर अरुलाई बाटो खाली गर्न भनिरहँदा उनकै पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालमा पाँचौँ पटक प्रधानमन्त्रीका रूपमा कार्यरत छन् । पहिलो पटक देउवा प्रधानमन्त्री हुँदा २०५२ भदौ २७ गते जन्मिएको व्यक्ति अहिले २७ वर्षको लक्का जवान भइसकेको छ । प्रधामन्त्री देउवा ७६ वर्षका छन् ।

तर, अझै ज्योतिषको भर र प्रधानमन्त्रीको रहर गरिरहेका छन् । चरम राजनीतिक असफलता र विकासका काममा कुनै नयाँ योजना दिन नसकेका उनले पार्टीको आन्तरिक राजनीति र कम्युनिष्टबीचको टुटफुटलाई सत्तामा पुग्ने लिस्नो बनाइरहेका छन् । २०५२ को परिस्थिति र आजको अवस्थामा आकाश जमिनको फरक भए पनि उही पुरानो सोच र शैली वर्तमान युगका जनताले झेलिनै रहनुपरेको छ ।

त्यसो त प्रधानमन्त्री हुन प्रतीक्षारत सबै दलका नेताहरू ४ दशकभन्दा लामो समयदेखि नेपाली राजनीतिमा छन् । ०४६ सालको राजनीतिक परिवर्तन र त्यससँगै राष्ट्रिय राजनीतिमा जोडिएका प्रायः नेता अहिले पनि हरेक दलको शीर्ष तहमा छन् । गिरिजाप्रसाद कोइराला जीवनको अन्तिम दिनसम्म राजनीतिमा क्रियाशील रहे । मनमोहन अधिकारी, सूर्यबहादुर थापालगायत अधिकांश नेता थलिँदाका अवस्थामा पनि राजनीतिमै सक्रिय थिए । दुई दशक पार्टीको नेतृत्व गरेका र मुलुकको कार्यकारी भइसकेका माधवकुमार नेपाललाई अझै पनि प्रधानमन्त्री बन्ने धोको छ ।

संविधानतः तीन पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली र दुई पटक प्रधानमन्त्री भइसकेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि अझै देशले खोजिरहेको निर्विकल्प नेता आफू मात्रै भएको भयंकर भ्रम छ । यो भ्रमबाट मुक्त हुन उनीहरूलाई अझै लामो समय लाग्ने देखिन्छ । यसो त गगनकुमार थापाले जस्तो मुखले नै सही हाँक दिने गरी पार्र्टीभित्र दोस्रो पुस्ता तयार भइसकेका छैनन् । एमालेमा पनि गगनले जस्तै हाँक यदि कसैले दिन्थ्यो भने उसको राजनीतिक जीवन नै सखाप पारिन्थ्यो ।

नेकपा एमालेले आफ्नो सातौँ महाधिवेशनबाटै पार्टीमा ७० वर्षे उमेर हदको बहस थालेको हो । आठौँ महाधिवेशनमा पनि जोडतोडसाथ उठेको यो विषयले मूर्तरूप लिन सकेन । नवौँ महाधिवेशनमा ७० वर्षे उमेर हद लागू नै गराए पनि नेकपा माओवादीसँगको एकीकरणपछि यो प्रावधान हटाइयो । १० औँ महाधिवेशनसम्म आइपुग्दा उमेर हदको परिभाषा बदल्दै कार्यान्वयनमा लगियो । गत वर्षको असोजमा ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनमा उमेर हदको प्रावधान कार्यान्वयनको निर्णय गर्दैगर्दा अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ कार्यकालका लागि समेत सहज हुने गरी यसको परिभाषा परिमार्जन गरियो ।

विधान महाधिवेशनले पार्टीको कुनै पनि व्यक्ति, कुनै पदमा उम्मेदवार बन्दासम्म ७० वर्ष नपुगेको भए चुनाव जितेपछि ७० वर्ष उमेर कटेमा त्यो व्यक्तिले पूर्ण कार्यकाल काम गर्न पाउने व्याख्या भयो । अध्यक्ष ओलीलाई सहज हुने गरी बनाइएको यो प्रावधानपछि मंसिर १० गते भएको दशौँ महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित हुनुभयो । त्यसको ३ महिनापछि आफ्नो ७० औँ जन्म दिन मनाइसकेका ओली अब पार्टीमा झण्डै ७५ वर्षको उमेरसम्म क्रियाशील रहनलाई विधानले छेक्ने छैन । एमाले, कांग्रेसजस्ता ठूला पार्टीहरूमा वयोवृद्ध नेताहरूकै जगजगी छ । नयाँ सोच, शैली र विचार भएको युवापुस्ता पार्टीको नेतृत्वमा पुग्न कैयौँ चुनौती र व्यवधानहरूको सामना गर्नुपर्ने अवस्था छ ।

तर यही चुनौती झेलिरहेको पुस्ता पनि स्वार्थ मिल्दासम्म नबोल्ने र स्वार्थ नमिल्नासाथ ठूलठूलो स्वरमा चिच्याउने गरेको इतिहासलाई नागरिकले पदप्राप्तिको रिहर्सलका रूपमा मात्र बुझिदिने गरेका छन् । जसका कारण योगेश भट्टराईले राखेको ७० वर्षे उमेर हदकोे प्रस्तावले कयौँ युवाहरूको अवसरको ढोका खुल्ने र त्यति नै वयोवृद्ध नेताहरू ससम्मान बिदाइ हुने भने देखिँदैन ।

नेपालको संविधान र निर्वाचन कानुनसमेत मौन बसेपछि नेताहरूलाई दशौं पटक प्रधानमन्त्री बन्न पनि कसैले रोक्ने कुरै भएन । तर उनीहरूका कारण देश कुन अवस्थामा पुग्यो वा उनीहले देशलाई के दिए यो चाहिँ इतिहासले मूल्यांकन गर्ला । तर विश्वमा कतिपय यस्ता उदार व्यक्तिहरू पनि छन्, जो पदका लागि मरिमेटेनन् । एकै व्यक्ति लामो समय पदमा बसिरहँदा धेरै कुरा गर्न सकिन्न भन्ने ठाने वा नयाँ गर्न सकिन्न भन्ने सोचे । अमेरिकाका जर्ज वासिङ्टन संसारकै पहिलो श्रीपेचबिनाको राष्ट्राध्यक्ष भए ।

अमेरिकी जनताले तेस्रो कार्यकालका लागि गरेको आग्रहमा आफ्नो मृत्युपछि देश चलाउने कोही हुन्न त ? भन्ने प्रश्नसहित विकल्प दिएका थिए । र, हाल अमेरिकामा दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाइने व्यवस्था छ । सन् १९९४ मा पूर्णप्रजातन्त्र स्थापनापछि दक्षिण अफ्रिकाका नेल्सन मण्डेलालाई सबै दलले सर्वसम्मत आजीवन राष्ट्रपति बन्न प्रस्ताव गरे । तर, उनले मानेनन् । एकै व्यक्ति लामो समय पदमा बसे मुलुकको दुर्गति खोज्न अन्त जानु पर्दैन भन्दै एक पदावधिभन्दा बढी सर्वोच्च पदमा बसेनन् नोबेल पुरस्कार विजेता मण्डेला । अफ्रिकाको संविधानमै कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्राध्यक्ष बन्न नसक्ने व्यवस्था गरियो । भारतमा पनि दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाइने संवैधानिक व्यवस्था छ ।

विश्वका सबै अनुभव र अभ्यासमा सरक्क सत्ता छाड्ने खालको मात्रै पनि छैन । चिनियाँ राष्ट्रपति सि जिङफिङ ६८ वर्षका भए । कम्युनिष्ट पार्टीका सर्वोच्च नेता राष्ट्रपति बन्ने प्रावधान रहेको चीनमा सि सन् २०१३ मा राष्ट्रपति बन्दा ५९ वर्षका थिए । सन् २०१८ मा दुई कार्यकालको प्रावधान खारेज गरिएपछि अब जीवनभर सर्वोच्च पदमा आसीन हुने मौका पाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ६९ वर्षका भए । सन् १९९९ मा बोरिस यल्त्सिनले अकस्मात् राजीनामा दिएपछि कार्यवाहक राष्ट्रपति बन्दा ४७ वर्षका थिए । सन् २००० को मेमा राष्ट्रपति बने । दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने प्रावधानका कारण त्यसपछि प्रधानमन्त्री बने । प्रधानमन्त्रीमा एक कार्यकाल पूरा गरेपछि संविधान संशोधन गरेर फेरि राष्ट्रपति बने । अहिले रुसी संविधान संशोधन गरेर पुटिनले सन् २०३५ सम्म राष्ट्रपति हुन पाउने बाटो खुला गरेका छन् । यसको अर्थ उनी ८३ वर्षको उमेरसम्म रुसको सर्वोच्च पदमा आसिन हुन पाउनेछन् ।

अब फेरि नेपालकै कुरा । सरकारी, गैरसरकारी वा निजी कुनै पनि सेवाको लागि योग्य हुन न्यूनतम उमेर, अधिकतम उमेर, सेवा अवधि र अवकाश उमेरमा निश्चितता हुन्छ । नेपालमा निजामती सेवा ऐनमार्फत सामान्यतया सरकारी सेवाको उमेर हद ५८ वर्ष कायम गरिएको छ । यस्तै शिक्षकहरूको हकमा ६० वर्ष छ । नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीमा भने श्रेणी र तहअनुसार अवकाशको उमेर हद कायम गरिएको छ । उमेरको अधिकतम हद ५८ र सेवा अवधि ३० वर्ष छ । सेना, प्रहरीलगायतका निकायमा सेवा अवधि हटाउने विषयले बेलाबेलामा निकै चर्चा पाउँछ ।

संवैधानिक आयोग र अन्य निकायमा पदीय क्षेत्र र तहअनुसार अवकाशको सीमा कायम गरिएको छ । संवैधानिक आयोगका प्रमुखको हकमा ६५ वर्ष र सदस्यहरूको हकमा ६३ वर्ष छ । तर राजनीतिक नियुक्ति वा निर्वाचनबाट चयन भएर आउनेहरूको हकमा भने उमेरहद कायम गरिएको छैन । यसको राजनीति गर्नेहरूले भरपुर लाभ लिइरहेका छन् । यसले धेरैलाई अवसरबाट वञ्चित गरिरहेको छ । धेरैको प्रतिभा मारिरहेको छ । यसको क्षति देशले भोगिरहेको छ ।

टिप्पणीहरू