व्यक्ति हत्याको आरोपमा समातिएका मेयर छुटाउन खोजेको आशंकामा आन्दोलन, एक दर्जन प्रहरी घाइते
अछामको पञ्चदेवल विनायक नगरपालिका-४ कुच्चीका १६ वर्षीय विनोद शाहीको हत्याका आरोपीलाई छुटाउन सरकारी वकिलले दबाब दिएको भन्दै पीडित पक्ष आक्रोशित भएको छ । हत्यामा संलग्नहरुलाई कारवाहीको मागसहित सामान्य प्रदर्शन गर्दै आएका पीडित परिवार थप आक्रोशित भएका हुन् ।
मृतक शाहीको न्यायका लागि जिल्ला अदालत र सरकारी वकिल कार्यालय पुगेका प्रदर्शनकारीमाथि प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको शाहीले बताए । हत्याका आरोपी नगर प्रमुख अम्बिका चलाउनेलाई सरकारी वकिल कौशल ढुङ्गानाले छुटाउन दबाब दिएको उनको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले प्रदर्शनकारीले जिल्ला अदालत र सरकारी वकिलको कार्यालयमा ढुङ्गामुढा गरेसँगै घटनालाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको बताए । प्रदर्शनकारीसँगको झडपमा १२ जना प्रहरी घाइते भएको उनको भनाइ छ ।
घटनाको निस्पक्ष छानबिन भइरहेको उल्लेख गर्दै उनले प्रदर्शनकारीले अनुसन्धानलाई प्रभावित गर्ने गतिविधि गरेको आरोप लगाए । उनका अनुसार अहिले अवस्थामा सामान्य छ । राजमार्गको अवरोध पनि खुलिसकेको छ भने सवारी साधन पहिलेजस्तै चलिरहेका छन् ।
पीडित पक्ष जिल्लाका विभिन्न ठाउँबाट सदरमुकाम मङ्गलसेन पुगेर घटनाका दोषीमाथि कारवाहीको माग गर्दै लामो समयदेखि आन्दोलित छ । पीडित परिवारले किटानी जाहेरी दिएको करिब एक महिनापछि मेयर चलाउनेसहित सात जनालाई प्रहरीले हिजो पक्राउ गरेको थियो । तथापि राजनीतिक प्रभाव र पहुँचका आधारमा उनीहरुलाई छुटाउन खोजिएको आशंकामा उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
गत जेठ १७ गते राति बेपत्ता भएका शाही पाँच दिनपछि घर नजिकैको भीरमा मृत अवस्थामा फेला परेका थिए ।
टिप्पणीहरू