स्वतन्त्रबाट विजयी मेयरविरुद्ध एमालेकी उपमेयर

स्वतन्त्रबाट विजयी मेयरविरुद्ध एमालेकी उपमेयर

धनगढी उपमहानगरपालिका उपमेयर कन्दकला रानाले बजेट निर्माणमा मेयर गोपाल हमालले एकलौटी गरेको भन्दै विरोध गर्नुभएको छ ।  आज बसेको नगरसभा बैठकमा बोल्दै नेकपा एमालेबाट नवनिर्वाचित उपमेयर रानाले मेयर र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बजेटमा एकलौटी गरेको आरोप लगाउनुभएको हो ।

आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बोलाइएको नगरसभा बैठकमा उहाँले उपमहानगर मेयरको निजी कम्पनी नभएको भन्दै आक्रोश पोख्नुभएको छ ।

उपमेयरले योजना तर्जुमाको क्रममा आफूलाई वास्ता गरिएको उल्लेख गर्दै भन्नुभयो, ‘धनगढी उपमहानगरपालिका कसैको प्राइभेट कम्पनी होइन । मेयर साबले एकलौटी गर्नुभएको छ । योजना तर्जुमामा हामीलाई वाइपास गरिएको छ ।’

स्वतन्त्रबाट निर्वाचित मेयर हमालले गरेको हरेक राम्रो काममा आफ्नो सँधै साथ रहने उहाँको भनाइ छ । तर उपमेयर रानाले मेयरले एकलौटी गरेमा नगरसभा समेत चल्न नदिने चेतावनी दिनुभयो ।

सरसल्लाह, छलफल र समन्वयका आधारमा मात्र धनगढीको विकास सम्भव हुने बताउँदै उहाँले योजना तर्जुमा समितिको संयोजक उपमेयर भए पनि योजना बनाउँदा सल्लाह नगरेको दाबी गर्नुभयो ।

टिप्पणीहरू