ठूला नेताको जिल्लामा राजमार्ग, ‘कालमार्ग’ बन्दै
मेची राजमार्गको किटेनीमा भत्किएको सडकबाट पिकअप दुर्घटना हुँदा झापाका रमेश र सूर्यप्रसाद थापाको घटनास्थलमै मृत्यु भयो । त्यसको केही दिनपछि किटेनीमै ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भयो ।
मेची राजमार्गमा यस्ता घटना पछिल्लो समय बाक्लो भइरहेका छन् । ठूला–साना सवारी साधन दैनिकजसो दुर्घटनामा परिरहेका हुन्छन् । सडकको दुरवस्थाका कारण दिनदिनै दुर्घटना बढ्दै गएपछि मेची राजमार्गलाई ‘कालमार्ग’ भन्न थालिएको छ ।
साँघुरो सडक, त्यसमाथि बढ्दो सवारी चाप र खाल्डाखुल्डीका कारण मेची राजमार्ग ‘कालमार्ग’मा परिणत भएको पूर्वेली ट्याक्सी व्यवसायी संघ बिब्ल्याँटेका अध्यक्ष रोशन श्रेष्ठ बताउँछन् ।
मेची राजमार्गको इलाम प्रवेश बिन्दु जोर कलशबाट राँके बजारसम्म सडकखण्डको कालोपत्रे भत्किएका कारण पछिल्लो समय दुर्घटना बढेको चालक बताउँछन् । सडक उक्लिएर यस्तो भएको छ कि कच्ची सडक हो कि कालोपत्रे भन्ने छुट्याउन गाह्रो पर्छ ।
दुई ठूला नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गृहजिल्लाको सडक देखेर पहिलो पटक यात्रा गर्नेहरूसमेत अचम्मित हुने गरेका छन् ।
स्थानीय निर्वाचनअघि फिक्कलमा आयोजित आमसभालाई संबोधन गर्न चन्द्रगढी एयरपोर्टबाट गाडीमा आएका एमाले अध्यक्ष केपी ओलीले समेत ‘यो क्षेत्रका सांसदले म प्रधानमन्त्री हुँदा दुरवस्थाको विषयमा जानकारी नै दिएनन्’ भनेका थिए ।
कालोपत्रे उक्किएको ठाउँमा सडक कार्यालयले मर्मत गरे पनि तीन महिना टिक्दैन । मेची राजमार्गको मर्मतमा गरिएको करोडौंको लगानी बालुवामा पानी बनेको छ ।
अझ माइखोला नजिकै बाटो धसिएका कारण भाग्य भरोशामा यात्रा गरिरहेको चालक कमल श्रेष्ठ बताउँछन् । मेची राजमार्ग लामो समयदेखि मर्मत नभएपछि स्थानीय युवाले विरोध गर्दै सडकमै केरा खेतीसमेत लगाएका थिए ।
मेची राजमार्गको माइखोलादेखि बिब्ल्याँटेसम्म सडक मर्मत ठेक्काको एउटा प्याकेज हो । तीन करोड ६ लाख ४३ हजार तीन सय सात रूपैयाँमा सम्झौता भएको हो । तर, यो खण्डमा पनि मर्मतलगत्तै कालोपत्रे भत्किएको थियो ।
इलाम नगरपालिका भित्रका कालोपत्रे मर्मतको लागि दुई करोड ११ लाख २९ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो तर त्यो पनि उक्किएर सडकको अवस्था खराब भएको छ ।
टिप्पणीहरू