रवि लामिछानेका सारथिलाई दल दर्तामै डर
रवि लामिछानेले असार ७ गते काठमाडौंको बसुन्धरामा कार्यालय राखेर राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता गर्ने भेलामा करिब ३५/४० जना सहभागि थिए । रवि सभापति र अरु २० जना सदस्य मात्र उल्लेख भएको सो दलको उद्देश्यबारे संस्थापकहरू नै स्पष्ट छैनन् । पार्टी स्थापनाको उद्देश्यमाथि प्रकाश पार्न जनआस्था साप्ताहिकले ५ जना संस्थापक सदस्यसँग आग्रह गर्दा धेरैले कुराको चुरो बताउन सकेनन् वा चाहेनन् ।
केन्द्रीय सदस्य प्रमिला कुलुजाले शुरुमा आफूलाई पार्टी दर्ता गर्ने बारे केही थाहा नभएको बताइन् । दर्ता गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा कुलुजाको जवाफ थियो, ‘त्यो त मलाई त केही थाह भएन ।’ दलको राजनीतिक नीति, सिद्धान्तबारे पूरै अनभिज्ञ रहेको बताउने कुुलुजाले आफू निकिता पौडेलको छिमेकी भएको दाबी गरिन् । र, ह्याण्डीक्राफ्टको व्यापारमा संलग्न भएको बताउँदै अहिले बिरामी भएको भनेर कुरा टार्न चाहिन् ।
अर्की संस्थापक बसुमाया तामाङसँग कुरा गर्दा पुरुषको जस्तै स्वर सुनिएपछि भनिन्, ‘के गर्ने, भगवानले यस्तै बनाइदियो ।’ उनले आपूmभन्दा पार्टी स्थापनाबारे अरुसँग बुझ्दा राम्रो हुन्थ्यो भन्दै प्रवक्ता डा. मुकुल ढकालसँग कुरा गर्न आग्रहसहित पन्छिइन् । पार्टी स्थापना गर्न लागेको हो भन्ने जनआस्थाको प्रश्नमा डा. ढकालले अनकनाउँदै अँ अँ भनेर लेघ्रो तान्दै हजुर हजुर भने । पार्टी दर्ता गर्ने भेला कहिले भएको थियो भन्ने प्रश्न गर्दा तिथिमिति बताउन सकेनन् ।
कुराकानीकै क्रममा एकछिन भन्दै ब्रेक मागे र मिटिङमा छु भने । त्यसपछि हस्ताक्षर गरेको हो भन्दै परिचय मागे । परिचय दिएपछि तपाईं कुन विभागको हो भने । पत्रकारिता विभाग भनेपछि आफू जनमैत्री अस्पतालमा कार्यरत रहेको र नाइट ड्युटी सकेर भर्खर आएको बताए । तर पार्टी स्थापनाको उद्देश्यबारे सोध्न अर्कैको फोन नम्बर दिन खोजे । बसुन्धरास्थित अफिसमा कार्यरत कर्मचारीसँग पार्टी स्थापनाको उद्देश्य बुझ्न सकिने बताए ।
अर्का सदस्य रामकृष्ण भट्टराईको जवाफ थियो, ‘हाम्रो प्रवक्ताले भन्नुहुन्छ ।’ उनले प्रतिप्रश्न गरे, ‘तपाईंले यो नम्बर कहाँ, कहाँबाट पाउनुहुन्छ ?’ पार्टी दर्ता हुने नहुने कुरा दुई–चार दिनपछि थाहा हुन्छ भन्दै दर्ता नहुन पनि सक्छ भनेर फोन राखे । त्यसैगरी, जनआस्थाले अर्का संस्थापक सदस्य इश्रा मुल्ला मियाँसँग कुराकानी गरेको थियो । उनले शुरुमा पार्टी दर्ता भैसकेको र भेला राष्ट्रिय सभा गृहमा भएको र यसो गर्ने अधिकार सबैको भएको बताए ।
पार्टीको उद्देश्य र लक्ष्यबारे स्पष्ट पार्न आग्रह गर्दा मियाँले ‘संवैधानिक समाजवाद’भएको बताए । पार्टी प्रवक्ता को हुनुहुन्छ भन्ने प्रश्न गर्दा डा. नकुल ढकाल हुनुहुन्छ भने । शुरुमा मिसेज खातुनले फोन उठाएकी थिइन् । उनले भेला भएको ठाउँबारे अरु हस्ताक्षर गर्नेभन्दा फरक ठाउँ बताएका छन् भने पार्टी प्रवक्ताको नाममा पनि अन्यौलता देखिएको छ । दुई सदस्यहरूले पार्टी प्रवक्ता डा. मुकुल ढकाल भएको बताए भने उनले कन्फिडेन्सका साथ डा. नकुल ढकाल भएको बताए । तपाइँको पार्टी दर्ता हुन्छ त भन्ने प्रश्नमा उनले ढुक्क छौं भने ।
राजनीति गर्नेहरूलाई हुँकार गर्दै खोलिएको टेलिभिजन प्रस्तोताको पार्टीको नामबारे विरोध भइरहेको छ भने उनकै दाजु हरिशरण लामिछानेले भाइको पार्टीमा प्रवेश नगर्ने भन्दै बजारु फन्डालाई मलजल गरेका छन् । सो पार्टीको संस्थापक सदस्यका रूपमा कोलप्रसाद अर्याल, दिपकराज बोहोरा, डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, उपेन्द्र पाण्डे, महेश्वर घिमिरे, विपिनकुमार आचार्य, कुसुम महर्जन, सोविता गौतम, गीता रेग्मी, डा. प्रभावत अधिकारी, रविना घिमिरे र विष्णुकुमार श्रेष्ठ देखिन्छन् ।
टिप्पणीहरू