माओवादीले श्रीमान् श्रीमतीलाई एकैचोटि संसद्मा नछिराउने
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा १५ बुँदे प्रस्ताव पेश गरिएको छ । संघीय र प्रदेश निर्वाचनको सम्भावित परिणामले पार्टीको भविष्य निर्धारण गर्ने भएकाले पार्टीले वस्तुस्थितिको सही विश्लेषण गर्दै ऐतिहासिक निर्णय गर्नुपर्ने प्रस्ताव गरिएको हो ।
प्रस्तावमा थकित अनुहारलाई संसदमा प्रवेश गराउन नहुने भन्दै आगामी निर्वाचनपछि युवा पुस्तालाई संसदमा छिर्न सक्ने वातावरण बनाउन माग गरिएको छ ।
“२०६३ सालदेखि यता चार पटक साँसद् भएकालाई आगामी निर्वाचनमा उम्मेदवार बनाउन नहुने भनिएको छ । “
केन्द्रीय सदस्य ओम शर्माले पेश गरेको उक्त प्रस्तावमा केही गर्न नसक्ने कमजोर व्यक्तिलाई जागिर खुवाउन समानुपातिक सांसद बनाएको भन्दै २०६३ सालदेखि यता चार पटक साँसद् भएकालाई आगामी निर्वाचनमा उम्मेदवार बनाउन नहुने भनिएको छ ।
विगतमा पार्टीले श्रीमान्, श्रीमती दुवैलाई सांसद बनाएको सन्दर्भ उल्लेख गर्दै अबदेखि कुनै पनि हिसाबले पार्टीले यस्तो दुस्साहस गर्न नहुने शर्माको प्रस्तावमा उल्लेख छ ।
प्रस्तावमा भनिएको छ, ‘अहिलेको मुख्य विषय समानुपातिकमार्फत पार्टीले शक्ति प्रदर्शन गर्नुपर्छ । यसको लागि समानुपातिक सूचीमा मुुलुकले विश्वास गरेका विभिन्न क्षेत्रका १५–२० जना प्रतिष्ठित विज्ञ व्यक्तिहरू समेट्नु पर्ने र ती विज्ञहरू माओवादीका सम्पत्ति हुन् भन्ने सन्देश पार्टीले दिन सक्यो भने जनताले विश्वास गर्ने र मत दिने छन् ।’
टिप्पणीहरू