फुटपाथमा बस्नेलाई लखेट्ने हैन,ब्यवस्थापन गर्ने हो

फुटपाथमा बस्नेलाई लखेट्ने हैन,ब्यवस्थापन गर्ने हो

गत असार १७ गते काठमाडौँको मुटु बालुवाटारमा नगर प्रहरी र ठेलागाडामा मकै बेच्ने दम्पत्तिबीच रस्साकस्सी चल्यो । दिउँसोको टन्टलापुर घाममा गाडामा मकै पोलेर बेचिरहेका सामान्य व्यापारीलाई हटाउन नगर प्रहरीले बलजफ्ती गरेको थियो ।

सार्वजनिक भएको एक भिडियोमा प्रहरीले व्यापारीमाथि हातपात गरेको देखिन्छ । ठेलागाडा उठाउने क्रममा महिलाले हारगुहार गरेर रोक्न खोजेपछि उनलाई लछारपछार गरियो । यता,उनका श्रीमानले आफ्नो ठेला बचाउन गरेको अथक प्रयास सफल भएन,प्रहरीले ठेला र मकै लगेरै छाड्यो ।

सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियोले फुटपाथ व्यवसाय ठीक कि बेठीक भन्ने बहस पुन: चर्किएको छ । शहरको सुन्दरता र शहरी सुरक्षासँग समेत प्रत्यक्ष जोडिएको फुटपाथ व्यापारलाई लिएर बेला-बेला हुने मौसमी बहस यो घटनापछि फेरि शुरु भएको छ । यसको पक्ष र विपक्षमा सञ्जाल गर्माएको छ ।

वास्तवमा काठमाडौँका मुख्य बजारमा हुने फुटपाथ व्यापार नयाँ होइन । रत्नपार्क, बालाजु,कोटेश्वर, बानेश्वर,चावहिल, गौशाला, कलंकीलगायतका क्षेत्रमा विगतदेखि नै हिंड्नै नमिल्ने गरी फुटपाथ व्यापार हुँदै आएको छ । साँझ र बिहानको समय सडकमै सामान असरल्ल पारेर निर्वाध ढंगले व्यापार भैरहेको हुन्छ । एकातिर सडकको जाम, अर्कोतिर बाटो छेकेर राखिएका यस्ता पसल, पैदलयात्रीले पाउने सास्ती र हैरानीको कुरा गरिसाध्य हुँदैन ।

त्यसो त, महानगरपालिकाले उपत्यकाभित्र ठेला, डोको,क्रेट र नाङ्ग्लोमा व्यापार गर्न प्रतिवन्ध लगाएको छ । तैपनि व्यवहारिकरुपमा भने रोकिएको छैन । बरु फुटपाथ व्यापारका नाममा नगर प्रहरी र व्यापारीबीचको लुकामारी रोचक देखिन्छ । नगर प्रहरी पुग्नेबित्तिक्कै सामान पोको पारेर व्यापारीहरुको भागाभाग चल्छ ।

जब प्रहरी हिंड्छ फेरि उनीहरु पुरानै ठाउँमा फर्किएर पसल राखिहाल्छन् । पैसा असुलेर पसलेलाई पूर्वजानकारी दिएर भगाएजस्तो गर्ने र फेरि छोडिदिने गरेको आरोप नगर प्रहरीमाथि छ । अस्ति बालुवाटारका मकै व्यापारीले पनि त्यसै भने । आफूले पैसा नदिएकै कारण नगर प्रहरीको निशानामा परेको र जवर्जस्ती सामान उठाएको उनले आरोप लगाएका छन् ।

वास्तवमा राजधानी शहर सुन्दर र फराकिलो बनाउने हो भने फुटपाथ व्यवसाय हटाउनै पर्छ । फुटपाथ बिल्कुल पैदल यात्रीको लागि हो,र त्यहाँ उनीहरु निर्वाध हिंड्न पाउनुपर्छ । तर,यसको मतलब फुटपाथ व्यवसायको दीर्घकालीन व्यवस्थापन नगरी हचुवाका भरमा प्रहरी लगाएर सामान जफत गर्ने कुरालाई पनि ठीक मान्न सकिंदैन । शहरी सौन्दर्यताको कुरा जति महत्वपूर्ण छ,दैनिक गुजारा चलाउन फुटपाथमा सामान राख्नुपर्ने बाध्यता उत्तिकै संवेदनशील छ ।

त्यसैले महानगरले यससम्बन्धी नीतिगत निर्णय गरेर दीर्घकालीन योजना बनाउनु पर्छ । सार्वजनिक खपतका लागि गरिने स्टन्टबाजीले क्षणिक वाहवाही बटुल्न सकिए पनि त्यसले समस्याको समाधान दिंदैन भन्ने कुरा महानगरका मेयर बालेन्द्र साह र यससम्बन्धी अन्य सरोकारवालाहरुले बेलैमा बुझ्न जरुरी छ ।

फुटपाथ व्यापारलाई देखाएर सेन्टिमेन्टको व्यापार गर्ने अर्को खतरनाक प्रवृत्ति पनि छ । शहरी सुन्दरताका पक्षमा बहस गर्ने र अभियान चलाउनेहरु नै फुटपाथ व्यवसायको प्रवर्धन हुने गरी प्रस्तुत हुने गरेको पनि पाइन्छ । तर,बुझ्नुपर्ने कुरा के हो भने फुटपाथमा पसल सञ्चालन गर्नेहरु सबै गरिब र त्यही आश्रित हुनुपर्ने स्तरका हुँदैनन् । न्यूरोड,असनतिर ठुल्ठूला हाेलसेल पसल बाटोमै राखिएको हुन्छ ।

सेन्टिमेन्टको व्यापार कति हानिकारक हुन्छ भन्ने एउटा तथ्य – ट्युनिसियाको फुटपाथमा व्यापार गरेर जीवन गुजारा गर्ने एक व्यक्तिलाई त्यहाँको नगर प्रहरीले दु:ख दिएपछि अरब बसन्त नामको आगो सल्किएको थियो । पछि त्यो क्रमश: ट्युनिसिया हुँदै इजिप्ट, सिरिया,बहराइन,यमन र लिबियामा फैलिँदा सिंगो अरब क्षेत्र तहसनहस हुन पुग्यो । त्यसैले भावनात्मक कुरा गरेर आफ्नो राजनीतिको रोटी सेक्ने होइन,तथ्यको जगमा उभिएर सत्य कुरा भन्नुपर्छ ।

टिप्पणीहरू