जमलमा माधव नेपालको रिपोर्टिङ,बानेश्वरमा महेश बस्नेतको वचन
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज राजधानीको जमलस्थित निर्वाचन आयोग भवन पारिपट्टी यल्लो पगोडा होटेलमा बस्यो । कान्तिपथको उक्त होटेलमा बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले यसबीच भएका पार्टी गतिविधिवारे रिपोर्टिङ गर्नुभएको हो ।
सत्तारुढ गठबन्धनवीचको आपसी सम्बन्ध,सरकारको कामलगायत वर्तमान राजनीतिक परिस्थितिबारे अध्यक्ष नेपालले १२ सदस्यीय सचिवालयलाई जानकारी गराउनुभएको हो । रिपोर्टिङमा मुख्य गरेर सत्तारुढ गठबन्धनको सट्टा आगामी निर्वाचनमा वाम गठबन्धनको निर्माण गरेर अघि बढ्नेबारे भइरहेका गतिविधिबारे पनि उहाँले यथार्थ विवरण राख्नुभएको थियो ।
विभिन्न साना वामपन्थी दलहरुबाट आएका बृहत वामगठबन्धन कायम राखेर अघि बढ्ने प्रस्तावबारे जानकारी गराउँदै अध्यक्ष नेपालले भन्नुभयो,‘उक्त विषयमा सल्लाह र छलफल गरौं, अहिलेको गठबन्धनलाई पनि कायम राख्दै अघि बढौं ।’ सुन्दा र देख्दा निकै राम्रो लाग्ने वाममोर्चाको विषयलाई पछिल्ला केही वर्षका गतिविधि,नेकपाको निर्माणपछि उत्पन्न परिस्थितिसँग दाँजेर हेर्नुपर्ने उहाँको भनाइ थियो ।
यता केही दिनअघि एकीकृत समाजवादीका उपाध्यक्ष तथा वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग एमाले नेता महेश बस्नेतले भेट गरेका छन् । प्रदेश सरकारलाई आधा कार्यकालमा भाग लगाउनुपर्ने नेपाली काँग्रेस वागमती प्रदेशका नेताहरुको लिखित सहमति बाहिर आएको सन्दर्भमा भएको उक्त भेटलाई अर्थपूर्ण मानिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका निकै विश्वासपात्र बस्नेतले मुख्यमन्त्री पाण्डेसँग गरेको लामो छलफलको निश्कर्ष सुनाउँदै भनेका थिए,‘काँग्रेस र माओवादीले मुख्यमन्त्रीबाट हट्नुपर्यो भने पनि तपाईं नआत्तिनुस् दाजु । आवश्यकता पर्यो भने हामी काँध हाल्छौं ।’
टिप्पणीहरू