प्रतिनिधि सभाको आयु अब कतिन्जेल ?
कार्यकाल अगावै विघटन भएमा बाहेक प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ भन्ने संविधानको धारा ८५ मा स्पष्टसँग लेखिएको छ । प्रतिनिधि सभामा रहेका समानुपातिक र प्रत्यक्ष गरी निर्वाचित २७५ जना सदस्यको कार्यकाल पनि पाँच वर्षको हुने संविधानको यही सामान्य व्याख्याबाट पनि पुष्टि हुन्छ ।
देउवा सरकारले आवधिक निर्वाचनको मिति घोषणा गरेमा उक्त सरकार संविधानको धारा ७७ (३) बमोजिम स्वतः कामचलाउमा परिणत हुने हो । तर प्रतिनिधिसभा र सांसद कामचलाउ नहुने धारा ८५ ले स्पष्ट पारेको संविधानविद्हरु बताउँछन् ।
त्यसैगरी धारा ८९ बमोजिम संघीय सांसदको स्थान रिक्त हुन प्रतिनिधि सभाको कार्यकाल समाप्त हुनुपर्ने हुन्छ । प्रतिनिधि सभा सदस्यले पुनः प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन मनोनयन गरेको अवस्थामा सोही दिनबाट उसको कार्यकाल समाप्त हुने तर अन्य मनोनयन नगरेकाहरूको हकमा कार्यकाल बाँकी रहने गत स्थानीय तहको निर्वाचनले पनि प्रमाणित गरिसकेको छ ।
सभामुखको कार्यकाल भने संसद विघटन भएको अवस्थामा अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म रहन्छ । तर विघटन नभएमा उनको पनि कार्यकाल पाँच वर्षकै हुने व्यवस्था छ । यी सबै व्यवस्थाबाट प्रतिनिधिसभाको कार्यकाल संसद विघटन भएमा बाहेक ५ वर्षको नै हुने निश्चित छ । सरकारले निर्वाचनको मिति घोषणा गर्दैमा सार्वभौम संसदको कार्यकाल खुम्चिन वा घटन नसक्ने अवस्था देखिन आएको हो ।
तर अहिलेको अवस्थामा केहीले निर्वाचन मिति घोषणा गरेकै दिनदेखि संसद र सांसदको म्याद सकिनेसम्मको चर्चा गर्न थालेपछि सर्वसाधारणमा अन्यौल देखिएको छ ।
टिप्पणीहरू