आलुको बोराभित्र झण्डै एक करोड (भिडियोसहित)
धनुषामा आलुको बोराभित्र झण्डै एक करोड रुपैयाँ फेला परेको छ । जनकनन्दिनी गाउँपालिकामा बोराभित्र फेला परेको पौने एक करोड रुपैंयासहित दुई जना समातिएका छन् । आलुको बोरामा रकम लुकाएका ईश्वर मण्डल र राजेश मण्डललाई सशस्त्र प्रहरी टोलीले आज दिँउसो समातेको हो ।
सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालको नेतृत्वमा खटिएको चार जनाको टोलीले भारतबाट आउँदै गरेको ज.७ प ५००७ नम्बरको मोटरसाइकल शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त रहस्य खुलेको हो ।
चेक गर्ने क्रममा टोलीले आलुको बोराबाट ८३ लाख ६४ हजार पाँच सय रुपैयाँ बरामद गरेको हो । सशस्त्रकाअनुसार बोराबाट एक हजार दरको नोट ७० लाख, पाँच सय दरको १३ लाख ४९ हजार पाँच सय, एक सय दरको १० हजार र ५० दरको पाँच हजार रुपैंया फेला परेको छ ।
त्यसैगरी, सशस्त्रले रेडमी कम्पनीका दुई थान मोबाइल र मोटरसाइकल बरामद गरेको छ । उक्त रकम, मोबाइल र मोटरसाइकलसहित दुवै जनालाई सशस्त्रको बिओपीमा राखिएको बताइएको छ ।
टिप्पणीहरू