वामदेवसहितको बैठकमा बालकोट भेटको चर्चा

वामदेवसहितको बैठकमा बालकोट भेटको चर्चा

स्थानीय चुनावको परिणामपछि हच्किएको एमाले र काँग्रेससँगको सहकार्यसँग भित्रभित्रै असन्तुष्ट रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीको दोस्रो तहका नेताहरु आउँदो चुनावमा वामपन्थी एलायन्स गर्नुपर्ने बहसमा छन् ।

तर चुनावअगाडि एकले अर्कालाई सिध्याउने घोषित योजनामा लागेका शीर्ष नेताहरु तत्कालै वाम सहकार्यको पक्षमा सहमत नहुँदा त्यस्ता प्रयासले मूर्तरुप लिन सकिरहेको छैन । यद्यपि प्रत्यक्ष-परोक्षरुपमा वाम तालमेल हुँदै पार्टी एकतासम्मका बहस अहिले पनि चलिरहेकै छ ।

यसैबीच नेकपाको औपचारिक विभाजनपछि तटस्थ रहँदै आउनुभएका वामदेव गौतमको ‘नेकपा रिभाइभ’ अभियान शुरु भएको छ । एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जोड्ने रसायनको खोजी भैरहँदा एक वर्षदेखि लगभग निस्क्रिय रहँदै आउनुभएका वामदेवको सक्रियता एकाएक देखिएको हो ।

पछिल्लो समय उहाँले एकता अभियानका नाममा पार्टी नै गठन गरेर एमाले, माओवादी र एकीकृत समाजवादीका अध्यक्षहरुसँग एक चरणको भेटघाट र छलफल भ्याइसक्नु भएको छ ।

पार्टी गठनलगत्तै वामदेवले ओली,प्रचण्ड र माधवसँग एकैदिन छुट्टाछुट्टै भेटवार्ता गरेपछि यो साता वामपन्थी एकताको बहसले राष्ट्रिय राजनीति गर्मायो । त्यसको अर्को दिन तत्कालीन नेकपामा केपी ओलीसँग अन्तरसंघर्ष चर्किएका बेला एक ठाउँमा रहेका सचिवालयका पाँच नेताको सामूहिक भेटघाटलाई लिएर उत्पन्न तरंग पनि सेलाइसकेको छैन ।

‘उनले पठाएका दूतहरुले प्रचण्डजी र मलाई एउटै प्रस्ताव गरेका छन्, त्यसैले उनको भर पर्न हुँदैन । वामदेव कमरेडको प्रयास सफल हुँदैन ।’

तत्कालीन नेकपाका एक अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरुबीच भएको उक्त भेटघाटको चाँजोपाँजो वामदेव आफैँले मिलाउनुभएको हो । हात्तीवनस्थित एक अपार्टमेन्टमा भएको भेटवार्तामा प्रचण्ड, नेपाल,झलनाथ खनाल, गौतम र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । पुनर्मिलन भनिएको उक्त भेटघाटमा सहभागी एक नेताका अनुसार त्यसदिन निकै हर्षित र प्रफुल्लित देखिनुभएका वामदेवले नेताहरु पुग्नेबित्तिक्कै हँसिलो मुद्रामा कसिलो हात मिलाएर कमरेडली शैलीमा स्वागत गर्नुभएको थियो ।

नेताहरुलाई स्वागत गरेपछि वामदेवले पार्टी एकता र वामपन्थी सहकार्यका लागि आफूले अहिलेसम्म गरेका पहलको ब्रिफिंग गर्दै नेकपालाई रिभाइभ गरेर चुनावमा जान प्रस्ताव गरेको ती नेताले बताए । साथै अघिल्लो दिन बिहान बालकोटमा केपीसंग भएको कुराकानी पनि सुनाउनुभयो । ओलीसंग राम्रै कुराकानी भए पनि संसद विघटनको आफ्नो कदमप्रति आत्मसमीक्षा गर्ने नदेखिएको वामदेवको रिपोर्टिंगको सार रहेको बताइएको छ ।

बताइएअनुसार ओलीले विगतमा नेताहरुलाई अलग-अलग बोलाएर सबैलाई एउटै पद प्रस्ताव गरेको सन्दर्भ निक्लिएपछि केहीबेर ठट्टासमेत चलेको थियो । त्यसपछि माधव नेपालले पुस ५ गतेभन्दा अगाडि ओलीमा जुन रवैया थियो,अहिले पनि परिवर्तन नभएकाले एमालेसंगको सहकार्य सम्भव नहुने निचोड सुनाउनुभयो ।

माधवको कुरामा सही थाप्दै प्रचण्डले भन्नुभयो, ‘सबैलाई बोलाउने, भेटघाट गर्ने र बेवकुफ बनाउने काम मात्र गरिरहनु भएको छ,उहाँ सच्चिनेतर्फ नदेखिएकाले सहकार्य सम्भव हुने देखिंदैन ।’ त्यसैमा कुरा थप्दै माधवले फेरि भन्नुभयो, ‘उनले पठाएका दूतहरुले प्रचण्डजी र मलाई एउटै प्रस्ताव गरेका छन्, त्यसैले उनको भर पर्न हुँदैन । वामदेव कमरेडको प्रयास सफल हुँदैन ।’

त्यसपछि नेताहरुले साझा निष्कर्ष निकाले – एमाले र काँग्रेसका विरुद्ध तेस्रो धार आवश्यक छ । कांग्रेसले पेलेकाले एमालेको ओली गुटबाहेक क्रान्तिकारीहरुलाई समेटेर तेस्रो शक्ति बनाउने विषयमा नेताहरुबीच अनौपचारिक कुराकानी भएको छलफलमा सहभागी ती नेताले बताए ।

उनका अनुसार बढी अनौपचारिक रहेको सो छलफलमा नेताहरुले विगतमा भएको सहकार्यको स्मरण गर्दै हाँसीमजाक पनि गरेका थिए । पछि हिँड्ने बेला वामदेवले कसिलोसंग हात मिलाएर सबैलाई विदाई गर्नुभएको थियो । छुट्टिनुअघि वामदेवकै चाहनामा एकल,युगल र समूहगत फोटो खिचाइएको थियो ।

टिप्पणीहरू