ओली र शंकरले टिकट बाँड्ने,अरुले अन्तर्घाती पत्ता लाउने ?
एमालेको अस्ति सम्पन्न सचिवालय बैठकले गत स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्न एउटा उच्चस्तरीय समिति बनाएको छ । त्यसको संयोजकमा उपाध्यक्ष विष्णु पौडेललाई राखिएको छ ।
नेतृत्वले संयोजक बनाए पनि उपाध्यक्ष पौडेल आफैँ त्यसको निम्ति इच्छुक नरहेको एमाले उच्च स्रोतले बताएको छ । उहाँले बैठकमा धारणा राख्ने क्रममा पनि घुमाउरो पाराले जसले टिकट बाँडेको हो,उसैले छानबिन गर्नुपर्ने भन्दै प्रत्यक्ष रुपमा अध्यक्ष ओलीतिर संकेत गर्न नसके पनि महासचिव शंकर पोखरेलप्रति असन्तुष्टि पोख्नुभएको बताइन्छ ।
स्थानीय तहको निर्वाचन र परिणामपछि अध्यक्ष केपी शर्मा ओली नेता विष्णु पौडेललगायतसँग असन्तुष्ट रहेको गाईंगुईंसमेत गर्न थालिएको छ । तर पौडेललगायतले नेतृत्व आफूहरुसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको धारणा राखेका छन् । ती धारणा सीमित कोठे बैठकभन्दा बाहिर जान नसकेको बताइन्छ ।
अहिले गठन गरिएको छानबिन समिति अध्यक्ष ओली,महासचिव शंकर, उपमहासचिव प्रदीप ज्ञवाली र ओलीका विदेश विभाग प्रमुख राजन भट्टराईको योजनामा बनाइएकाले पनि पार्टीभित्र असन्तुष्टी बढेको भन्नेहरुको संख्या धेरै छ ।
स्रोत भन्छ, ‘गत निर्वाचनमा ओली गुट बाहेककाले निर्वाचन खासै जितेका छैनन् । वडाअध्यक्ष गन्ने हो भने अर्को पक्षले बढी जितेको रिपोर्टिङ भएको छ । टिकट पाएको अनुपातमा ओली गुटकाले भन्दा अर्को पक्षले धेरै जितेको देखिन्छ । तर टिकट नै धेरै नदिएपछि संख्या पनि धेरै हुने कुरो भएन ।’
यता अन्तर्घातको छानबिन गर्ने सन्दर्भसँगै समिति बनाइरहँदा अर्कोतर्फ किचेन क्याबिनेटको निश्कर्ष भने आनको तान फरक देखिएको छ । अध्यक्षलाई रिपोर्टिङ गरिएको गुटको निश्कर्षमा पार्टीभित्र भएका केही अन्तर्घात गुटका कारण नगरी नहुने भएकाले केही ठाउँमा भएको उक्त गलत कार्य नगण्य रहेको बताइएको थियो ।
तर पार्टीभित्र योग्यता र क्षमता हुँदाहुँदै पनि टिकट नदिइएकाले ती ठाउँमा अन्तरघात भएको निचोडमा उहाँहरु पुग्नुभएको हो । वास्तविकता त्यस्तो भए पनि पार्टीभित्रका अन्य पक्ष भनाउँदाहरुलाई देखाउनैको निम्ति अन्तरघात छानबिन समिति गठन गरिएको बुझाइ छ ।
पार्टीले स्थानीय तहको निर्वाचनमा पराजय व्यहोर्नुको कारण चाहिँ अन्तरघातभन्दा पाँच दलीय गठबन्धन मुख्य रहेको बालकोटको निश्कर्ष हो । तर त्यो ठहर भन्ने र सुनाउने आँट कसैले गरेका छैनन् भने अर्को पक्षले पनि सोध्ने सामर्थ्य राखेको देखिँदैन ।
टिप्पणीहरू