पब्लिकमाथि पठाओ र इन्ड्राइभको पेलान
कात्तिक महिनाको एक दिन राति त्रिभुवन विमानस्थल जानु पर्ने थियो । आमा जापान जाँदै हुनुहुन्थ्यो । राति साढे ११ बजेको अन्तर्राष्ट्रिय उडानका लागि साढे ८ बजे पुग्नुपर्ने तालिकाअनुसार राइड सेयरिङ एप इनड्राइभमार्फत ट्याक्सी बोलाएँ । चालकले कल गरेपछि लोकेशनमै रहेको जानकारी गराएँ । एककिलोमिटर भन्दा पनि कम दूरीमा रहेको चालक १५ मिनेटसम्म पनि नआइपुगेपछि कल गरें । जाममा परेको जवाफ आयो, जामै नपर्ने ठाउँमा जाम । केहीबेरपछि सम्पर्क गर्दा सम्पर्क हुन सकेन । फेरि एनड्राइभमार्फत नै अर्को ट्याक्सी मगाएँ, नतिजा उही । भएपछि पठाओमार्फत ट्याक्सी बोलाएँ । पठाओवाला ट्याक्सी आइपुगेपछि मात्रै इनड्राइभवाला ट्याक्सी आइपुग्यो । आइसकेपछि क्यान्सिल गर्न नहुने भनेर चालक गनगन गर्दै थिए, मैले पनि समयमा नआएपछि के गर्नु त ? भनें ।
पठाओको ट्याक्सी अलिकति उकालो पनि नचढेपछि धकेल्नुपर्ने अवस्था आइलाग्यो । महँगो पैसा तिर्नु, ट्याक्सी पनि धकेल्नु । कस्तो विडम्बना ! यो दृश्यले सार्वजनिक यातायात सेवा प्रदायकको प्रवृत्ति र सवारी साधनको अवस्था देखाउँछ । चालकको लापरबाही र सवारी साधानको अवस्थाले यात्रु जोखिममा छन् भन्नलाई यो उदाहरण काफी छ ।
यो अन्तको होइन, काठमाडौंको यातायात सेवा हो । रातको समय, सडकमा त्यतिधेरै सवारी साधन थिएन र समयमै एयरपोर्ट पुगियो । काठमाडौं बसिरहेको भतिज एयरपोर्ट जाने राम्रो विकल्प साझा यातायात हो भन्नेमा ढुक्क रहेछ । साझा त साँझ नपर्दै ग्यारेजमा थकिन्छ भन्ने जवाफ सुन्दा ऊ छक्क परेको थियो । हुन पनि साझाले काठमाडौंमा राति अबेरसम्म सुविधा दिनुपर्ने हो, त्यसो गरिरहेको छैन । आखिर साझा पनि सेवा कम, नाफा बढी खोज्ने तहमै उक्लिसकेछ ।
काठमाडौंकै त यस्तो हालत छ, सार्वजनिक यातायात अन्त के होला ? सार्वजनिक सवारी साधन प्रयोग गर्ने यात्रुको त्यति धेरै अपेक्षा हुँदैन । बस चढ्दा सिट पाइयोस्, कार्यालय समयमा एउटै स्टपमा धेरैबेर नरोकोस् अर्थात् यात्रु चढाउने र झार्ने मात्रै गरोस्, अनि फटाफट अघि बढोस् । चालक र सहचालकले राम्रो व्यवहार गरुन्– यत्ति त हो तर त्यसो भइरहेको छैन । कार्यालय समयमै एउटै स्टपमा धेरैबेर रोकेर बस्नु, यात्रुलाई अपशब्द बोल्नु र अभद्र व्यवहार गर्नु नै धैरैजसो चालक र सहचालकको दैनिकी बनेको छ । तोकेभन्दा बढी भाडा असुलिँदैछ ।
ठूलो संख्यामा उपत्यकालाई सेवा दिनुपर्ने सार्वजनिक यातायातको स्थिति खराब छ । सर्वसाधारणले सार्वजनिक यातायातमा भोग्नु परेको दुर्दशामा कुनै सुधार छैन । सडक चौडा त पारियो तर सार्वजनिक यातायातमा सुधार गरिएन । सवारी साधन हरेक वर्ष १०–१५ प्रतिशतको हाराहारीमा बढ्यो, फलस्वरूप यातायातको सही व्यवस्थापन हुन सकेन । त्यसैले सडक जाम पहिलेको भन्दा झन् खराब र सडक दुर्घटना झन् वृद्धि हुन थाल्यो ।
नेपालमा कूल सवारीको ४ प्रतिशत मात्र सार्वजनिक यातायातको संख्या छ । ६५ लाख दर्ता भएका कूल सवारी साधनमा सार्वजनिक यातायातको संख्या करिब २ लाख ५० हजार मात्र छ । धेरै यात्रु बोक्ने भए पनि सार्वजनिक बसको संख्या जम्मा ७० हजार हो । २ लाख ५० हजारमा आधा त इ.रिक्सा छन् ।
यो अनुपातबाटै सार्वजनिक यातायात व्यवस्थित छैन भन्ने पुष्टि हुन्छ । सार्वजनिक यातायात निजी क्षेत्रबाट धानिएको छ । यसको महत्व र आवश्यकताको बारेमा सबै जानकार छन् तर सुधारका लागि पहल गरेको देखिँदैन । ४० वटा मोटरसाइकलले या ३० वटा कारले बोक्न सक्नेजति यात्रु एउटै सार्वजनिक बसले तुलनात्मक रूपमा अति थोरै सडक क्षेत्र ओगटेर बोक्न सक्छ भन्ने थाहा हुँदाहुँदै पनि सार्वजनिक यातायातको विकासमार्फत निजी साधनको प्रतिस्थापनमा ध्यान दिन नसक्नु नै काठमाडौंलगायत नेपालकै समग्र यातायात क्षेत्रको जड समस्या हो । राज्यका निकायहरूले यातायात क्षेत्रका अन्तर्निहित विसंगतिको निवारण हुने गरी समयोचित नीति तर्जुमा गरी कार्यान्वयन गर्ने तत्परता देखाउन ढिला गर्नु हुन्न ।
टिप्पणीहरू