संसदमा अर्थमन्त्रालयको सिसिटिभीबारे छलफल,संसदको दैलोमा युवासंघको विरोध
आज ११ बजे डाकिएको प्रतिनिधि सभाको बैठक अझै प्रारम्भ हुनसकेको छैन । बैठक केही समयको लागि पर धकेलेर सभामुख अग्निप्रसाद सापकोटासँग दलका प्रतिनिधिहरू छलफलमा जुटेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको आरोप लगाउँदै विरोध गर्दै आएको छ । उसले संसदीय छानबिन समिति नबन्दासम्म अर्थमन्त्रीलाई आवश्यकताको आधारमा बहिष्कार र विरोध दुवै गर्ने जनाएको छ ।
उता माओवादी केन्द्रले एमाले सहमतिमा आएमा संसदीय छानबिन समिति बनाएर जान सकिने संकेत गरेको छ । पार्टीको आज बिहान बसेको पूर्वस्थायी कमिटीको बैठकले यसबारे निर्णय गरेको बताइन्छ ।
बजेट निर्माणमा असम्बन्धित व्यक्तिको सहभागिता, त्यो दिनको सिसिटिभी फुटेज मेटिएको, करका दर आफूअनुकूल परिवर्तन गरिएको आरोप लागेपछि अर्थमन्त्री शर्मालाई पद त्याग्न चर्को दबाब परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासमेत उक्त दबाबमा पर्नुभएको हो ।
यहि दबाबलाई किनारा लगाउन अर्थमन्त्री शर्मा एक सातादेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास धाइरहनुभएको छ । दाहालले हिजो यहिबारे बालुवाटारमा लामो छलफल गर्नुभएको छ । सबैभन्दा रोचक प्रसंग यहि काण्डमा मन्त्री शर्मालाई पदमुक्त गराएर पार्टीको जारी केन्द्रीय समिति बैठकमा पदाधिकारी चयनको निम्ति एकथरि नेताहरु कम्मर कसेर लागेका छन् ।
यसैबीच अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज बिहान सांसदहरूलाई संसद भवन, नयाँ बानेश्वर प्रवेशमा रोकको कार्यक्रम गरेको थियो ।
टिप्पणीहरू