निमित्त अर्थसचिव बनाइने डरले सहसचिवहरु भागाभाग
मान,प्रतिष्ठा र उच्चस्तरीय सम्बन्धका हिसाबले अर्थ,गृह र परराष्ट्र मन्त्रालयमा सचिव पद आकर्षक मानिन्छ । अन्य मन्त्रालयका सचिवभन्दा प्रभाव र पहुँचमा पनि माथि हुने भएकाले यतातिर सरुवा भएर जान सचिव, सहसचिवहरुबीच हारालुछ हुने गरेको विगतका प्रशस्तै उदाहरण छन् । तर, यतिबेला अर्थसचिव मधु मरासिनी ‘बिरामी बिदा’ लेखेर घर बसेपछि निमित्तको जिम्मेवारी आइलाग्ने डरले त्यहाँका सहसचिवहरु भने त्रसित रहेको चर्चा छ ।
बजेट निर्माण गर्दा करको दर हेरफेरमा मध्यराती अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा अर्थमन्त्री जनार्दन शर्मासँगै अर्थसचिव मरासिनी पनि विवादमा मुछिएका छन् । जेठ १४ गते राती मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर अर्थमन्त्री शर्माले करका दर हेरफेर गराएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले त्यसदिनको सिसिटिभी फुटेज देखाउन माग गर्दै आएको थियो । तर, मरासिनीमाथि सिसिटिभी फुटेज मेटाएको आरोप लागेको छ । त्यसबाट जोगिन उनले बिदा बस्ने निर्णय गरेको आशंका छ ।
बताइएअनुसार सिसिटिभी फुटेज काण्डमा मुछिएर ‘टाउको जोगाउन’ मरासिनीले बिदा बस्ने सजिलो उपाय रोजेपछि ‘फोहोर’ सफा गर्नुपर्ने डरले सहसचिवहरु कोही फोन अफ गरेर बसेका छन् त कोही उम्किने बाटो खोजिरहेका छन् । यसैपनि ‘माछो देखे दुलाभित्र,सर्प देखे दुला बाहिर हात’ भनेजस्तै कर्मचारीहरुलाई हैसियतअनुसार स्वार्थी नै देखिनुपर्ने बाध्यता छ । त्यसमाथि यत्रो लफडा देख्दादेख्दै निमित्त बनेर यो प्रकरणमा किन जोडिने ? अर्थका हाकिमहरुको भागाभागको अन्तर्य यहि हो ।
‘सरकार यहि छ, अर्थमन्त्री उनै छन् । भोलि प्रधानमन्त्रीले ल यसो गर्नुपर्यो भने नाइँनास्ती गर्न मिलेन’, एक सहसचिव भन्छन्, ‘त्यसैकारण यस्तो झ्याउलोमा फस्न नपरे हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक नै हो !”
अर्थ मन्त्रालयमा राजश्व सचिव छन् कृष्णहरि पुष्कर । सामान्यतया: राजश्व सचिवलाई अर्थ सचिवको जिम्मा दिने प्रचलन छैन । यसैपनि उनी अहिले देश बाहिर रहेकाले जिम्मेवारी दिने कुरा भएन । सहसचिवमध्ये वरिष्ठ भूपाल बराल र केदारनाथ शर्माको मोबाइल अफ छ । प्रवक्ता ढुण्डीराज निरौला,अर्जुनकुमार खड्का,राजेश्वर ज्ञवाली, रमेशकुमार केसी,महेश आचार्य,इश्वरीप्रसाद अर्याल,बाबुराम सुवेदीलगायतका सहसचिव पनि निमित्त लिन नपर्दिए हुन्थ्यो भन्ने मनशायमा रहेको बताइन्छ ।
“भूपाल बराल र केदारनाथ शर्माको मोबाइल अफ छ । प्रवक्ता ढुण्डीराज निरौला,अर्जुनकुमार खड्का,राजेश्वर ज्ञवाली, रमेशकुमार केसी,महेश आचार्य,इश्वरीप्रसाद अर्याल,बाबुराम सुवेदीलगायतका सहसचिव पनि निमित्त लिन नपर्दिए हुन्थ्यो भन्ने मनशायमा रहेको बताइन्छ ।”
सिसिटिभी फुटेज डिलेट भएको पत्र लेख्न बाध्य पारिएका सचिव मरासिनी यसैपनि सहकर्मीहरु माझ ईर्ष्याको पात्र हुन् । मतपत्र हातमा लिएपछि रुखमात्रै देख्ने भन्ने आरोप झेल्दै आएका उनलाई माओवादीले सम्हालेको अर्थ मन्त्रालयमा लगिएकोमा त्यतिबेलै एमाले नेताहरुले अचम्म मानेका थिए । अघिल्ला दुई कार्यकाल नेपाल राष्ट्र बैंकको सन्चालक समिति सदस्य रहेका डा.श्रीराम पौडेललाई भनसुन गराएर मरासिनी अर्थ सचिव बनेको त्यतिबेला चर्चा थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकट सम्बन्ध रहेका पौडेल मरासिनीका मामा ससुरा हुन् ।
अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच उत्पन्न विवाद सेफल्याण्डिङ गराउन नसकेकोमा उनको आलोचना हुने गरेको छ । किनभने अर्थसचिव राष्ट्र बैंक सन्चालक समितिमा सदस्य पनि हुन्छ । मन्त्रालय र राष्ट्र बैंकबीच पुलको काम गर्ने महत्वपूर्ण जिम्मेवारी हो यो । तर,मरासिनीले आफूलाई त्यसअनुसारको भूमिकामा प्रस्तुत गर्न नपाएकेकै कारण अर्थमन्त्री-गभर्नर विवादले असामान्य रुप लिएको र त्यसले सिंगो अर्थतन्त्रमै प्रभाव पार्नेसम्मको स्थिति निम्तिएको राष्ट्र बैंकका कतिपय सन्चालक सदस्यहरु दाबी गर्छन् ।
त्यसो त,मरासिनीलाई नेपालमा बसेर यहाँको परिस्थितिअनुसार काम गरेको लामो अनुभव पनि छैन भनिन्छ । उनले अधिकांश समय विश्व बैंक,एशियाली विकास बैंकजस्ता अन्तर्राष्ट्रिय दातृ निकायमा रहेर काम गरे । राजनीतिक नेतृत्वसँग नजिक रहेर काम गरेको अनुभव नभएकै कारण उनमा आवश्यक पर्दा रिस्क लिने क्षमता नबनेको नजिकबाट चिन्नेहरू बताउँछन् ।
अहिले अर्थमन्त्रालय र अर्थमन्त्रीलाई अप्ठेरो परेका बेला उनी बिदा बसेर टाउको लुकाउनु पनि त्यसैको परिणाम हो भनिन्छ ।
टिप्पणीहरू