विष्णु पौडेल र युवराज खतिवडामाथि पनि छानबिन हुनुपर्यो : माओवादी केन्द्र

विष्णु पौडेल र युवराज खतिवडामाथि पनि छानबिन हुनुपर्यो : माओवादी केन्द्र

प्रमुख प्रतिपक्ष नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको बहिर्गमनलाई आफ्नो बटमलाईन बनाएपछि नेकपा माओवादी केन्द्रले पनि त्यस्तै सर्त अघि सारेको छ ।

आज सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा एमालेका प्रतिनिधिले अर्थमन्त्रीको राजीनामामा अडान राखेपछि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले यसअघिका अर्थमन्त्री विष्णु पौडेल र युवराज खतिवडालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताउनुभएको हो ।

यसअघि पौडेलले अर्थमन्त्रीको हैसियतमा बजेट ल्याउँदा एमालेका नेता तथा व्यापारी मोती दुगडलाई नुन आयातमा नीतिगत रूपमा बजेटमै व्यवस्था गरेको आरोप थियो । साल्ट ट्रेडिङलाई निजीकरण गरेर पौडेलले नुन आयातको जिम्मा दुगडलाई दिन बजेटमै व्यवस्था गरेपछि विवाद चर्किएको थियो । यस विषयमा तत्कालीन नेकपाका सांसदहरूले नै विरोध गरेका थिए ।

त्यतिबेला प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठनको माग गरे पनि पछि उक्त प्रकरण त्यत्तिकै सेलाको थियो । त्यस्तै, तत्कालीन अर्थमन्त्री खतिवडाको सन्दर्भमा विशाल ग्रुपलाई विद्युतीय गाडी भित्र्याउन विशेष सहयोग गरेको विषय उठेको थियो । खतिवडाको पालामा चकलेट र गाडी खरिदमा व्यापक चलखेल भएको आरोप लाग्दा छानबिनको माग भएको थियो ।

सोही प्रसंग निकाल्दै गुरुङले विगतका अर्थमन्त्रीबारे पटक–पटक प्रश्न उठ्दै आएकाले सबैमाथि समिति बनाएर एकमुष्ट छानबिनको माग गर्नुभएको हो ।

यता, अर्थमन्त्री शर्माले भने राजीनामा दिनुभएको छ । योसँगै बजेट निर्माण प्रक्रियामा मन्त्रीको भूमिकामाथि प्रश्न उठेपछि पनि राजीनामा नदिने विगतको परम्परा तोडिएको छ ।

टिप्पणीहरू