बलात्कारीलाई जेलको चौकीदार बनाउन डिआइजीको दबाब
कपिलवस्तुमा बलात्कार मुद्दा प्रमाणित भएपछि जेल पुगेका शंकर कडरिया थारुलाई कारागारको चौकीदार बनाउन एक जना डिआइजीले दबाब दिएका छन् । नेपाल प्रहरीको लुम्बिनी प्रदेश कार्यालयका नलप्रसाद उपाध्यायले कपिलवस्तु कारागार प्रशासनलाई थारुलाई चौकीदार बनाउन दबाब दिएका हुन् ।
रुपन्देहीको फर्साटिकर निवासी थारु बलात्कार मुद्दामा साढे ४ वर्ष कैद भुक्तान गर्दैछन् । शान्तिसुरक्षाको जिम्मा पाएको प्रहरीले कारागार प्रशासनलाई दिएको अनावश्यक दबाब अहिले प्रहरी संगठनभित्र चर्चाको शिखरमा छ ।
यसबारे अर्का एक जना डिआइजीले भने,‘त्यस्तो केसमा परेको मान्छेलाई त्यसरी बोक्नु हुँदैन । त्यो प्रहरीको कार्यक्षेत्रभित्रको विषय नै होइन । प्रहरीले जेलको पनि शान्ति सुरक्षा मात्रै हेर्ने हो । त्यहाँको प्रशासन हेर्ने निजामती कर्मचारीले हो ।’
कारागार सञ्चालनको निम्ति गृह मन्त्रालय मातहतका कर्मचारीलाई खटाइन्छ । मुख्य कर्मचारीलाई जेलर भनिन्छ । अहिले उनै जेलरलाई डिआइजीले दबाब दिएपछि ‘दालमा केही कालो’ देखिएको बताइन्छ ।
कारागारको नाइके, चौकीदार बनाउने नाममा लाखौंको खेल हुन थालेपछि उपाध्याय पनि त्यसतर्फ लोभिएको बताइन्छ । त्यसरी नाइके, चौकीदार बनाइएका कैदीहरुको तोकिएको कैद घट्ने भएकाले पनि ‘लेनदेनको खेल’ हुन थालेको हो । तर बलात्कार,हत्या,वंश विनाश,सामूहिक हत्या, युद्धअपराधजस्ता गम्भीर प्रकृतिका अपराधमा जेल परेकालाई नाइके, चौकीदारको जिम्मेवारी दिईंदैन । विश्वका अधिकांश मुलुकका जेलमा त्यस्तो नगरिने गृह मन्त्रालय स्रोतको दाबी छ ।
“बलात्कार,हत्या,वंश विनाश,सामूहिक हत्या, युद्धअपराधजस्ता गम्भीर प्रकृतिका अपराधमा जेल परेकालाई नाइके, चौकीदारको जिम्मेवारी दिईंदैन ।”
एक जना अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक भन्छन्, ‘यस्तो काममा मानिसले भ्रष्ट भएपछि हात हाल्ने हो । आफ्नो पेशामा पनि भ्याएसम्म गर्ने र पाए अन्त पनि गर्न बाँकी नराख्ने भएपछि कपिलवस्तु कारागारको जस्तो घटना अन्यत्र पनि हुनसक्छ ।’ उनका अनुसार कैदीहरु स्थानान्तरण गर्दा पनि रकम कलमको राम्रै लेनदेन हुने गरेको छ । उदाहरणको निम्ति कुनै एउटा दुर्गम तराईका जिल्लाबाट कैदीलाई अनुकूल भनिएको अर्को जिल्ला वा काठमाडौंको जेलमा पठाउँदा पैसाको खेल हुने गरेको छ ।
उनै एआइजी भन्छन्, ‘तुलनात्मक रुपमा काठमाडौंमा सुविधा छ । तराईको तुलनामा पहाडी क्षेत्रका कतिपय जिल्लाका गतिला जेलमा पठाउँदा पनि ठूलो चलखेल हुने गरेको खबर यदाकदा सुनिने गरिएको थियो ।’
उनै डिआइजी नलप्रसादलाई अन्यत्र पनि उठ्तीपुठ्तीमा राम्रै चलखेल गर्ने गरेको आरोप लाग्दै आएको छ । उनले प्रदेशमा रहेका अधिकांश चौकीका प्रहरीलाई आफैँ फोन गर्ने गरेकोवारे प्रहरी संगठनभित्र बेला बेलामा कुरो उठ्ने गरेको छ । उनले विशेषगरी तराईको जिल्लाका चौकीमा फोन गर्दै सबै तहका प्रहरीलाई अरु कसैलाई जानकारी नगराई आफूलाई भेट्न’ बोलाउने गरेका छन् ।
त्यसरी बोलाउँदा कतिपयले डराउँदै जाने र कोशेलीपातसमेत टक्रयाउने गरेको बताइन्छ । तर नडराई जानेसँग उल्टै उपाध्याय लुत्रुक्क पर्ने गरेको रुपन्देही जिप्रकाका एक डिएसपीले बताए । उनले भने, ‘कड्केर कुरो गर्दा उल्टै भाइको नाता लगाउँदै दाजुभाइ मिल्नुपर्छ भने । हजुरका हजुर लगाएर बोलेपछि मलाई नै लाज लाग्यो ।’
टिप्पणीहरू