विपद् व्यवस्थापनका लागि “अभ्यास हातेमालो”
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा प्रदेश स्तरीय विपद व्यवस्थापन एकीकृत अभ्यास “अभ्यास हातेमालो” सम्पन्न भएको छ ।
नेपाली सेनाको आयोजनामा सिरहा जिल्ला,कर्जन्हा नगरपालिका वडा नम्बर २ स्थित कमला नदीमा मनसुन पूर्वतयारीका लागि तीन दिने समारोह भएको हो ।
समारोहमा डुबान क्षेत्रबाट प्रभावित परिदृश्य बनाई त्यसबाट बच्ने विभिन्न उपायहरु सिकाइएको थियो ।
नेपाली सेनाको विपद् व्यवस्थापन टोलीद्धारा डोरी तथा बास्केटको प्रयोग गरी उद्धार गर्ने अभ्यास पनि गरिएको हो ।
श्री नं २७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी चन्द्र गुरुङले समारोहको सुरुवात गरेका हुन् ।
यता, मुख्यमन्त्री राउतले मधेश क्षेत्रमा वर्षेनी हुने डुबान समस्याबाट पीडितहरुलाई उद्धार गर्न एकीकृत रुपमा मधेश प्रदेश सरकारको पहलमा विपद् व्यवस्थापन कार्यका लागि आवश्यक पर्ने स्थायी संयन्त्र खडा गर्ने जनाएका छन् ।
साथै, उनले अभ्यास एकीकृत रुपमा सफलतापुर्वक सञ्चालन गर्न सहयोग गरेकोमा नेपाली सेनालाई प्रशंसा पत्रसमेत वितरण गरेका छन् ।
समारोहमा गृह तथा सञ्चारमन्त्री भरतप्रसाद शाह, गृहसचिव, विभिन्न नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्ष, नेपाली सेनाका अधिकृत र नेपाली प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको थियो ।
उक्त समारोह असार १५ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको थियो ।

टिप्पणीहरू