स्याङ्जाको खोलामा यो वर्ष १० हजार, अर्को वर्ष एक लाख माछाको भुरा खन्याइने
स्याङ्जाको दरौ खोलामा विभिन्न जातका दश हजार माछाका भुरा छाडिएको छ । खोलामा माछा पाउन छाडेसँगै अर्जुनचौपारी गाउँपालिकाले उक्त संख्यामा माछाका भुरा छाडेको हो ।
अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार मत्य विकास केन्द्र मिर्मीको सहयोगमा रहु तीन हजार, नैनी तीन हजार र गरदी चार हजार माछाका भुरा उक्त खोलामा छाडिएको हो ।
खोलालाई माछामार्फत आय आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम भएकाले पहिलो पटक दरौ खोलामा भुरा हालिएको अध्यक्ष तिवारीको भनाइ छ । उहाँले पालिकाभित्र रहेका अन्य केवरेखोला र दिर्जे खोलामा पनि भुरा छाड्ने तयारी भइरहेको जानकारी दिए ।
अध्यक्ष तिवारीले खोलामा साना भुरा हालिएकाले करिब एक महिनासम्म माछा मार्न निधेष गरिएको बताउँदै स्थानीयलाई खोलामा जाल थाप्न र विष हालेर माछा नमार्न आग्रह गरेका छन् ।
‘खोलालाई माछामार्फत् आय आर्जनको प्रमुख स्रोत बनाउने पालिकाको नीति छ । सोहीअनुसार हामीले आज पहिलो पटक खोलामा माछाको भुरा हालेका छौँ,‘ अध्यक्षले भने, ‘साना भुरा भएकाले बढ्न अल्लि समय लाग्छ । त्यसले हामीले करिब एक महिनासम्म माछा मार्न निषेध गरेका छौ । यसमा हामीलाई साथ दिन स्थानीयहरुलाई अनुरोध गर्न चाहन्छौँ ।‘
पालिकाले खोलाको तीन किलोमिटर क्षेत्रमा चार ठाउँमा भुरा छाडेको हो । यस्तै, आगामी आर्थिक वर्षमा एक लाख भुरा खोलामा छाड्ने पालिकाको योजना गरेको छ ।
टिप्पणीहरू