गृहमन्त्री बालकृष्ण खाँणमाथि भ्रुणहत्याको आरोप

गृहमन्त्री बालकृष्ण खाँणमाथि भ्रुणहत्याको आरोप

प्रमुख प्रतिपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूणहत्यासँग तुलना गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसमाथिको छलफलमा सहभागी हुँदै सांसद तामाङले गृहमन्त्री खाँणको उक्त प्रस्तावलाई भ्रूणहत्यासँग तुलना गरेका हुन् ।

‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो । मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता लिनुभयो, नजन्मिँदै भ्रूणहत्या भयो,’ उनले भने, ‘नागरिकता कानुनको हत्या भयो, गर्भपतन भएको छ भर्खर । त्यो नगरियोस्, जन्मिन दिउँ ।’

नागरिकता विधेयकलाई फिर्ता नलिन सरकारसँग आग्रह गरेका तामाङले तीन वर्ष संसदीय समितिमा छलफल गरेर दलीय सहमति कायम भएको विधेयक अघि बढ्न दिनुपर्नेमा जोड दिए । विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा फिर्ता लिन नहुने भन्दै उनले नमिलेका कुनै विषयमा पछि अर्काे विधेयक ल्याएर संशोधन गर्न सकिने धारणा राखे ।

अन्तिम अवस्थामा विधेयक फिर्ता लिन नहुने भन्दै सांसद तामाङले अब फेरि ल्याउँदा शून्यबाट सुरु गर्नुपर्ने अवस्थाबारे सचेत गराए ।

टिप्पणीहरू