बाबुरामको विभाजनमा लाग्ला त ब्रेक ?
केही निकटस्थले नै साथ छाडेपछि डा.बाबुराम भट्टराईले जसपा विभाजनको योजना तत्कालका लागि थाती राख्नुभएको छ । वैधानिक रुपमा दल विभाजन गर्न समस्या भएकै बेला निकटस्थले पनि चूप लागेर बस्ने बाटो रोजेका छन् ।
अवैधानिक रुपमा दल विभाजन गर्दा समस्या हुने कारण बाबुरामपक्षीय नेताहरू हच्किएका हुन् । अन्तिम अवस्थामा नवराज सुवेदी, पर्शुराम खापुङ, डम्बर खतिवडा, दुर्गा सोबहरू पार्टी नफुटाआफैँ भन्नेमा पुगेका छन् । उहाँलाई साथ दिँदै आएका राजकिशोर यादव पनि पछाडि हटेका छन् ।
उता, पूर्वदल माओवादी केन्द्रसँग चुनावी तालमेल वा एकता नै गर्न पनि उहाँ तयार हुनुहुन्थ्यो । यस योजनाअनुसार, पटक–पटक उपराष्ट्रपति नन्दबहादुर पुनको लैनचौरस्थित सरकारी निवासमा भेट पनि भयो तर त्यो भेटले झस्काइदियो, नारायणकाजी श्रेष्ठलाई । आउने चुनावमा राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर नारायणकाजी गोरखामा चुनाव लड्ने मनस्थितिमा हुनुहुन्छ ।
तर, बाबुरामलाई पार्टीमा भित्र्याउने नाममा आफ्नो निर्वाचन क्षेत्रमाथि कुनै सौदाबाजी नगर्न प्रचण्डलाई चेतावनी दिनुभएको माओवादी स्रोतले जनाएको छ । यदि फेरि पनि बाबुराम वामपन्थीहरूको गठबन्धनमा छिर्न सक्नुभएन भने गोरखामा कांग्रेससँग तालमेल गरेर उठ्ने सम्भावनाबारे माओवादीभित्र चर्चा हुन थालेको छ ।
बाबुरामको बाध्यता नै हो कसै न कसैसँग गठबन्धन गरेर गोर्खाबाट चुनाव जित्ने । यसनिम्ति भरपर्दो विकल्प को हुन सक्ला ? पार्टी विभाजन गर्दा संसदीय दल र केन्द्रीय समिति दुवैतर्फ ४० प्रतिशत पुग्दैन । अंशदाबी नगरी घरबाट निस्केर हिँड्दा सत्ता गठबन्धनमा पनि निरन्तरता रहन्न ।
उता, दक्षिणलाई महन्थहरूको लोसपा, रेशम चौधरी र बाबुराम नमिसाए ३ प्रतिशतको थ्रेसहोल्ड कट्दैन भन्ने थाहा छ । यी सबै परिस्थितिमा बढ्दा सकस कसैलाई छ भने त्यो बाबुराममै भएको देखिन्छ ।
टिप्पणीहरू