आउने चुनावमा समाजवादी निर्णायक !

आउने चुनावमा समाजवादी निर्णायक !

राष्ट्रिय राजनीति कतातिर जाने भन्ने अन्योलताकै बीचमा आउँदो निर्वाचनको विषयमा विविध अड्कलवाजीहरू हुन थालेका छन् । आउँदो निर्वाचनमा सम्भावित उम्मेदवारको सूची मागेर छलफल शुरु गर्ने गरी राजनीतिक पार्टीहरूले तयारी गरे पनि कस्तो खालको गठबन्धन हुन्छ वा कसरी जाने भन्ने निक्र्याेल नहुँदा खास आकारको अनुमान गर्न सकिने अवस्था छैन ।

गएको स्थानीय तह निर्वाचन र त्यहाँ बनेका संगठनका आकारको आधारमा गठबन्धनको सम्भावित रूपरेखा आँकलन गर्न थालिएको छ । ललितपुरको क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी निर्णायक शक्तिको रूपमा उदाएको छ । वडा नं २ र ३ मा सेटसहित जितेको समाजवादी वडा नं १५ मा झिनो मतले पराजित भएको थियो ।

वडा नं १४ मा पनि सम्मानजनक मत ल्याएको र अन्य केही वडामा सशक्त संगठन हुँदाहुँदै गठबन्धनको अन्यौलताले उम्मेदवार उठाउन नपाएको अवस्था विपक्षी दलहरूले समेत राम्रो नोटिस गरेकाले क्षेत्र नं ३ मा एकीकृत समाजवादीको अवस्था निर्णायक बन्ने समीक्षा भएको छ ।

क्षेत्र नं ३ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिष्पर्धा रहेको बुझेर एकीकृत समाजवादीलाई रिझाउने प्रयासमा एमालेको स्थानीय नेतृत्व लागेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर स्थानीय तह निर्वाचनजस्तै अघि बढे एकीकृत समाजवादीसँग गठबन्धन गरेरै गए एमालेले जित्ने सम्भावना रहेको नेपाली कांग्रेस र माओवादी केन्द्रबीचमा पनि चर्चा शुरु भएको छ ।

क्षेत्र नं २ मा पनि नेकपा माओवादी र नेपाली कांग्रेसबीच स्थानीय तहको गठबन्धन कार्यकर्ता तथा जनताको तहबाट रिजेक्ट भएपछि नयाँ विकल्पमा जानुपर्ने विषयमा छलफल शुरु भएको छ ।

तत्कालीन नेकपा एमालेबाट जितेका संघीय सांसद कृष्णलाल महर्जन, प्रदेश सांसद माधव पौडेल, महालक्ष्मी नगरपालिकाका उपमेयर निर्मला थापा एकीकृत समाजवादीमा हुँदाहुँदै पनि एकीकृत समाजवादीलाई गठबन्धनबाट बाहिर राखिनु गलत भएको समीक्षा कांग्रेस र माओवादीमै भएको छ ।

कांग्रेस र माओवादीबीच मात्रै भएको गठबन्धनलाई कोन्ज्योसोमका स्थानीयले पनि अस्वीकार गरिदिएपछि ललितपुरको आगामी निर्वाचनको गठबन्धनमा एकीकृत समाजवादी अलि निर्णायक भएको नेपाली कांग्रेसका नेताहरूले बताउँदै आएका छन् ।

टिप्पणीहरू